मंगलबार, चैत ६, २०८०
11:03 | १६:४८

जुलाई २ भित्र वार्ता तय नभए गोर्खाहरु फेरि आमरण अनसन बस्ने

वार्ता तय गर्न बेलायतलाई अल्टिमेटम

नेपाली लिङ्क जुन २७, २०२२

फाइल तस्विर: गत वर्ष ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा बेलायती प्रधानमन्त्री कार्यालयअगाडि आमरण अनसनमा

लन्डन–गोर्खा मुद्धाको समाधानका लागि नेपाल सरकारसँग गर्ने भनिएको वार्ताप्रति बेलायत उदासीन बनेको निष्कर्षसहित पूर्व गोर्खाहरुले फेरि आमरण अनसनमा उत्रिने चेतावनी दिएका छन्। 

गोर्खा भूतपूर्व सत्याग्रह संघर्ष समितिले आगामी जुलाई २ तारिखभित्र वार्ता मिति नतोकिए जुलाई तेस्रो सातादेखि फेरि आमरण अनसन बस्ने चेतावनी दिएको हो। 

सत्याग्रह समितिले तत्काल वार्ता तय गर्न माग गर्दै सोमबार बेलायती रक्षामन्त्री बेन वालेसलाई अल्टिमेटमसहितको पत्र समेत पठाएको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपाली लिंकलाई जानकारी दिए।

‘गोर्खा वार्ताप्रति बेलायत सरकार पूर्ण उदासीन बनेको निष्कर्षमा हामी पुगेका छौं। जुलाई २ तारिखसम्म पनि वार्ता मिति तय हुँदैन भने हामी पुन: आमरण अनसनमा जाने भनेर केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ’, प्रमुख संयोजक राईले भने ।

वार्ता निश्चित नभएको अवस्थामा जुलाई २१ तारिखदेखि बेलायत र नेपाल दुवैतिर आमरण अनसनसहित संघर्षका कडा कार्यक्रम अघि बढाइने उनले बताए। 

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई

अबको आमरण अनसन कुनै पनि सम्झौतामा टुंगिन नदिने अठोट सत्याग्रह प्रमुख संयोजक राईले व्यक्त गरेका छन्। ‘अबको हाम्रो माग कुनै पनि शर्तबिना पूरा हुनुपर्ने हाम्रो अडान रहन्छ। प्राविधिक संयन्त्रको सिफारिश प्रतिवेदन जस्ताको तस्तै पूरा नगरिएसम्म आमरण अनसन तोडिनेछैन्’, उनले भने ।

बेलायत सरकारले पूर्व गोर्खाहरुको विश्वास र भावनामा पटक-पटक खेलवाड गर्दै आएको आरोप लगाउँदै राईले अब आफूहरु कुनै पनि प्रलोभनमा नपर्ने स्पष्ट पारेका छन् ।  

वार्ता तय गराउनका निम्ति नेपाल सरकारबाट समेत पर्याप्त र प्रभावकारी पहल हुन नसकेको गुनासो सत्याग्रहले गरेको छ।

गोर्खाहरुको मुद्धामा बेलायत सरकारमाथि दबाब बढाउने उद्धेश्यले सत्याग्रह समितिका तीन अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले बेलायती प्रधानमन्त्री कार्यालयअगाडि दुई साता आमरण अनसन बसेका थिए।

गोर्खा समस्याको समाधानको लागि बेलायतले सरकारस्तरीय वार्ता प्रतिवद्धता गरेपछि उनीहरुको अनसन तोडिएको थियो । तर झन्डै एक वर्षसम्म पनि वार्ता शुरु नभएपछि आक्रोशित गोर्खाहरु पुन: आमरण अनसनमा जाने तयारी गरेका हुन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू