बिहीबार, चैत १५, २०८०
17:48 | २३:३३

स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्तिको महासचिव खुशीले गरे खण्डन

नेपाली लिङ्क जुन २७, २०२२

महासचिव खुशी लिम्बु

लण्डन-गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूके महासचिव खुशी लिम्बुले प्रवक्ताको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको दावी गरेका छन् ।

महासचिवले बैठक बस्ने नबस्ने भन्ने विषयमा विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकाले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्तिको खण्डन गर्दै लिम्बुले त्यो आधिकारिक नभएको जिकिर गरे ।

गत शनिबार २५ जुनका लागि तय गरिएको कार्यसमितिको नियमित बैठक अधिराज्यव्यापी रेल हडताल र त्यसबाट सिर्जित यातायात समस्याले रद्द भएको तर अध्यक्षलगायत उपस्थित सदस्यहरुबीच औपचारिक छलफल भने भएको उनी र कोषाध्यक्ष विष्णु खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महासचिव खुशी लिम्बु र कोषाध्यक्ष विष्णु खरेलको विज्ञप्ति यस्तो छः  

२६ जुन २०२२

प्रेस विज्ञप्ति

आदरणीय पत्रकारज्यूहरु,

सर्वप्रथम यो जानकारी गराउँदछौं कि एनआरएनए यूकेको प्रवक्ताको अफिसियल इमेल अकाउण्ट आज मिति २६ जुन २०२२ को दिन दिउँसो १४:३४ बजे अनधिकृत प्रयोग भएको छ । सचिवालयको जानकारीबिना सम्प्रेषण भएको कथित प्रेस विज्ञप्ति झुट र भ्रामक रहेको जानकारी गराउँदछौं । 

हिजो मिति २५ जुनमा बस्ने भनिएको एनआरएनए यूकेको बैठक कार्यसमितिका अधिकाँश साथीहरु उपस्थित हुन नसक्ने अवस्था थप अधिराज्यव्यापी रेलवे हडतालका कारण कार्यसमितिका बहुमत साथीहरुकै सल्लाह बमोजिम बैठक स्थगन गरिएको थियो ।

तथापि बैठकमा कोरम नपुगे पनि अध्यक्षज्यू लगायत समितिका कतिपय बरिष्ठ सदस्यहरु उपस्थित हुनुभएकोले बैठक पूर्ण र औपचारिक नभएर एउटा अनौपचारिक छलफलमा रुपान्तरित भएको थियो । 

बैठकमा अधिकांश उपाध्यक्षज्यूहरु साथै महासचिव र कोषाध्यक्ष जस्ता सचिवालयका अन्य बरिष्ठ सदस्यहरु अनुपस्थित रहनुभएको र बैठक जबरजस्ती सञ्चालन गर्न सचिवज्यूहरुलाई दवाव दिएकोले उक्त बैठक अवैधानिक रहेको सचिवालयको ठहर छ । त्यसैले विज्ञप्तिमा उल्लिखित जानकारी (जसले सम्प्रेषित गरेको भएपनि) सत्य नभएको जानकारी गराउँदछौं ।  

हिजो कार्यालयमा उपस्थित सचिवालयका उपाध्यक्ष राम चन्द्र पोखरेल र प्रवक्ता भरतमणी चोङबाङसित सम्पर्क गरेर जानकारी लिंदा त्यस्तो कुनै पनि निर्णय भएको सचिवालयलाई जानकारी भएन । 

त्यसैले आज अघि १४:३४ बजे सम्प्रेषित विज्ञप्तिलाई औपचारिक र सत्य नठानिदिनुहुन यो सूचना जारी गर्दछौं र अनधिकृत प्रयोग हुन नदिनका लागि सचिवालयले उक्त इमेल अकाउण्ट नियन्त्रणमा लिएको जानकारी गराउँदछौं । एनआरएनए यूकेमा हुने अन्य गतिविधिहरुबारे यहाँहरुलाई जानकारी गराइरहने छौं । धन्यवाद

महासचिव, खुशी लिम्बु

कोषाध्यक्ष, विष्णु खरेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू