मंगलबार, जेठ १, २०८१
00:11 | ०४:५६

लन्डनमा एमाले नेताहरुसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया

नेपाली लिङ्क जुन २२, २०२२

लन्डन-बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका एमाले नेताहरुसँग लन्डनमा अन्तरक्रिया भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, सदस्स्य सांसदहरू जयकुमार राई, पदम गिरी लगायत नेकपा एमाले सल्लाहकार समितिका सदस्य पूर्व सांसद कुलप्रसाद नेपालको सम्मानमा प्रवासी नेपाली मञ्च यूकेले स्वागत तथा अन्तरक्रिया गरेको हो ।

नर्थ ह्यारोस्थित सारस रेस्टूरेन्टमा मंगलबार साँझ आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व मन्त्री सुरेन्द्र पाण्डेले संसारका सबै देशहरूले समयको कालखण्डमा अनेकौँ कठिनाइ झेलेर नै देश विकास गरेका बताए । ’हामीले पनि यस्तै कठिनाइहरू झेलेर देश विकास गर्न सकिन्छ । यसका लागि सबै क्षेत्रबाट संकल्प गरेर लागिपर्नुपर्छ’ उनले भने ।

पूर्व मन्त्री पाण्डेले अहिलेको युग ज्ञान, अर्थतन्त्रको युग भएकाले हामीले पनि ज्ञानमा आधार बनाएर कृषि र उद्योको विकास गर्नु पर्ने बताउंदै प्रवासबाट पनि  ज्ञान, सीप र पूंजी लिएर लगानी गर्न स्वदेशमा फर्कन आह्वान गरे।

समारोहमा अर्का वक्ता अर्थ समितिका सभापति कृष्ण प्रसाद दहालले नेपाललाई प्रवासका नेपालीले आर्जन गरेको ज्ञान र पूंजीको आवश्यकता भएकाले नेपाल फर्केर देश विकासमा लाग्न अपिल गरे ।

यसैगरी सांसद जयकुमार राईले यहाँ आएर पार्टी संगठनका गतिविधिहरू जान्न र भेटघाट गर्न पाउँदा न्यानो अनुभूति भएको बताउंदै प्रवासका नेपालीको पार्टी प्रतिको चिन्तनले पार्टी संगठन मजबुद बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।

अर्का वक्ता सांसद पदम गिरीले गएको स्थानीय निर्वाचनमा विपक्षीहरूको अस्वस्थ गठबन्धनको घेरालाई चिरेर नेकपा एमाले माथि उठेको बताए ।

एमाले सल्लाहकार समितिका सदस्य पूर्व सांसद कुल प्रसाद नेपालले वैदेशिक रोजगारीमा जानु पर्ने वाध्यात्मक परिस्थितिबाट मुक्त गर्न सरकारले स्वदेशी उद्योग र कृषिलाई बढी जोड दिएर आधुनिक ढाँचामा ढाल्नु पर्ने चर्चा गरे ।

यसअघि समारोहमा प्रवासी नेपाली मञ्चको सम्पूर्ण संगठनको तर्फबाट संवोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले विश्वव्यापीरूपमा संगठित प्रवासी नेपाली मञ्चले राजनीतिक र सामाजिक गतिविधिहरूद्वारा देश र जनसमाजको समृद्धि अघि बढाउन लागिपरेको बताए ।

अध्यक्ष गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा प्रवासबाट संगठितरूपले सक्रिय रहेको विचार व्यक्त गरे ।

कार्यक्रम सभापति प्रवासी नेपाली मञ्च–यूके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलियाले देश विकास र जनताका मुलभूत आवश्यकता परिपूर्ति गर्न देशमा नेकपा एमाले जस्तो राष्ट्रिय पार्टी मजबुद हुनु आवश्यक रहेको र प्रवासी नेपाली मञ्च पार्टीलाई बलियो बनाउन र जनताको आवश्यकताहरूमा सघाउन प्रवासमा स्पष्ट उद्धेश्य बोकेर संगठितरूपले क्रियाशील रहेको चर्चा गरे ।

वरिष्ठ उपाध्यक्ष तुङ्गभद्र भुषालले धन्यवाद मन्तव्य व्यक्त गर्दै आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा समय दिने अतिथि लगायत कार्यक्रम संयोजन, सहभागिता र व्यवस्थापनमा सहयोग पुरयाउने सम्पूर्ण सहभागीप्रति आभार प्रकट गरे । उनले समारोहमा भएको बृहत सहभागिताले देश प्रतिको चिन्ता र माया यति धेरै छ भन्ने प्रष्ट दर्शाएको पनि उल्लेख गरे ।

स्वागत मन्तव्य राख्दै मञ्चकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले वाध्यताले प्रवासमा बस्नु परे पनि देशको माया भएकाले स्वदेश फर्कने वातावरण बनाइदिन एमाले नेताहरुसमक्ष आग्रह गरिन् ।

कार्यक्रम सञ्चालनका क्रममा मञ्चका महासचिव सुरेशजंग शाहले देश विकास र जनजिविकाको नजिक पुगेर पार्टीको संगठन अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुरयाएका नेताहरूको अनुभव र देशको परिस्थितिबारे अवगत गराउन र प्रवासका समस्या नेताहरुलाई जानकारी दिने अभिप्रायले मञ्चले कार्यक्रम गरेको बताए ।

राष्ट्रियगान र सहिदहरूप्रति सम्मान प्रकट गरेर आरम्म भएको समारोहमा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ र प्रवासी नेपाली मञ्च-यूकेका केन्द्रीय अध्यक्ष सुरेन्द्र थपलियाले प्रमुख अतिथि र अतिथिहरुलाई खाता, पुष्पगुच्छा र अभिनन्दनपत्रले सम्मान गरेका थिए ।

समारोहमा एनआरएन अन्तराष्ट्रिय समन्वय समितिको उपमहासचिवमा निर्वाचित मञ्चका पूर्व अध्यक्ष रामशरण सिंखडा, एनआरएन आईसीसी सदस्यमा निर्वाचितद्वय मञ्चका पूर्व अध्यक्ष दिनेश घिमिरे र सदस्य भिमलाल भट्टराई लगायत एनआरएन आईसीसीका सहकोषाध्यक्ष कृष्ण तिमल्सेना र ब्रिटेन नेपाल चेन्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्टलाई प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबाट खाता र पुष्पगुच्छा दिइ वधाई तथा सम्मान गरिएको थियो ।

स्वागत तथा अन्तर्क्रिया कार्यक्रम संयोजनका लागि मञ्चका पूर्व अध्यक्ष दिनेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्ष रामशरण सिंखडा, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, कोषाध्यक्ष पुन्य रेग्मी, क्षेत्रीय अध्यक्ष अर्जुन चापागाँई र निर्देशन त्रिपाठी रहेको संयोजन समिति गठन गरिएको थियो ।             

समारोहमा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सदस्य तथा पूर्वअध्यक्ष कर्ण बहादुर शाही, युरोप महाद्विपीय कमिटीका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष तथा बेलायत इन्चार्ज विनोद ज्ञवाली र मञ्चका केन्द्रीय कमिटी तथा विभिन्न क्षेत्रीय कमिटीका पदाधिकारी, सल्लाहकार, सदस्यहरुलगायतको उपस्थिति थियो ।

तस्विर सौजन्य- शक्ति घिमिरे  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू