मंगलबार, जेठ १, २०८१
19:06 | २३:५१

गोर्खा वार्ताबारे बेलायती मन्त्री र नेपाली राजदूतबीच छलफल, वार्ता अझै अनिश्चित

नेपाली लिङ्क जुन २१, २०२२

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धामा बहुप्रतिक्षित वार्ताको संघारमा दुवै पक्षका वार्ता टोली संयोजकहरुबीच मंगलबार छलफल भएको छ ।  

गोर्खा वार्तामा नेपाल सरकारको तर्फबाट संयोजक तोकिएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती वार्ता टोलीका संयोजक एवम् डिफेन्स् एन्ड भेटेरान मिनिस्टर लिओ डोकर्टीबीच छलफल भएको हो ।  

लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न राजदूत आचार्य र मन्त्री डोकर्टीबीचको छलफल गोर्खा वार्ताको तयारीमा केन्द्रित भएको दूतावासले जनाएको छ। वार्ताको मिति र मोडालिटीबारे उनीहरुले छलफल गरेपनि मिति तय हुन भने बाँकी रहेको जनाइएको छ।  

‘हामीले वार्ता सक्दो चांडै शुरु गर्ने प्रस्ताव राखेका छौं। बेलायती मन्त्रीले आन्तरिक छलफल गरेर हामीलाई खबर गर्छौं भन्नुभएको छ’, छलफलमा सहभागी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपाली लिंकलाई बताइन्।

वार्ताको सम्भावित मितिबारे अझै निश्चित हुन नसकेको खनालको भनाइ छ। ‘अगस्टमा बेलायतको पार्लियामेन्ट्री सेसन रहन्छ, त्यो अवधिमा वार्ताको सम्भावना रहंदैन्। त्यसैले हामीले त्यसभन्दा अघि नै वार्ता शुरु गरौं भनेका छौं। तर त्यसमा बेलायती पक्ष पनि सहमत हुन जरूरी छ, त्यसैले अहिलेलाई  जवाफ पर्खिनैपर्नेछ’-खनालले भनिन् 

छलफलमा उपनियोग प्रमुख खनाल र मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारका साथै बेलायती विदेश मन्त्रालयको दक्षिण एशिया डेस्कका कर्मचारीको पनि सहभागिता थियो।

भूतपूर्व गोर्खाहरुले लामो समयदेखि उठाउँदै आएका समान पेन्सनसहितका मागहरुको बारेमा आसन्न दुई पक्षीय सरकारस्तरको वार्ताले ठोस निर्णय लिने आशा गरिएको छ। वार्तामा पूर्व गोर्खाका प्रतिनिधि समेतलाई सहभागी गराइने तयारी छ।

तर महिनौँदेखि वार्ता मिति समेत तय हुन नसक्दा भने गोर्खाहरु अब बिस्तारै सशंकित र आक्रोशित बन्न थालेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू