शुक्रबार, चैत १६, २०८०
21:00 | ०२:४५

नेपाली भाषा तथा सांस्कृतिक केन्द्र यूकेद्वारा लण्डनमा टेनिस र पारिवारिक पिकनिक

नेपाली लिङ्क जुन २१, २०२२

लन्डन – नेपाली भाषा तथा सांस्कृतिक केन्द्र यूकेले गत शनिवार मिलहिल स्कुलमा टेनिस तथा पारिवारिक पिकनिक आयोजना गरेको छ ।

टेनिस प्रतियोगितामा हेमेल ह्याम्सटेड, वाटफोर्ड, एजवेयर, डार्टफोर्ड, केन्ट, अल्डरशट, फार्नबरो लगायतबाट २० खेलाडीले भाग लिएका थिए। 

टेनिस प्रतियोगिता सिंगल्स र डबल्स गरी दुई स्वरुपमा खेलाइएको थियो । प्रतियोगिता अन्तर्गत सिंगल्समा केन्टका खुम थापा विजयी भए भने हेमेल ह्याम्स्टेडका राजन फुयाल रनरअप भए। 

त्यस्तै डबल्सतर्फ फार्नबरोका निल पुन र कोलिन्डेलका डेनियल वाङ विजयी भए भने वाटफोर्डका गौरव बराल र कोलिन्डेलका जर्ज कु रनरअप भए।


कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले सिंगल्समा विजयी खेलाडीहरुलाई र बार्नेट काउन्सिल बन्टोक वार्डका काउन्सिलर कमल गुरुङले रनर्सअपहरुलाई ट्रफी प्रदान गरे।

प्रमुख अतिथि गाहामगरले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गर्दै आएका कार्यक्रमहरुको 
प्रशंसा गर्दै यूकेमा रहेका थोरै संस्थाले मात्रै दिगो रुपमा नेपाली भाषा, कला, संस्कृतिलाई प्राथमिकता दिएको बताए । उनले यस्ता संस्थालाई सम्पूर्ण प्रवासी नेपालीहरुले सहयोग गर्नु पर्नेमा जोडसमेत दिए ।  उनले एनआरएनए यूकेको यस संस्थाप्रति पूर्ण रुपमा साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसका साथै प्रवासी नेपालीहरुलाई टेनिस खेलमार्फत एकजुट गराइ विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीहरुमा सद्भाव बढाएकोमा उनले केन्द्रलाई धन्यवाद दिए ।

खेलकुदले मानसिक र शारिरीक तन्दुरुस्तता बढाउन एवं स्वास्थ्य रहन मद्दत गर्ने हुनाले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा एनआरएनए यूकेको साथ र सहयोग रहने पनि उनले बताए ।

कार्यक्रमका अर्का अतिथी काउन्सिलर कमल गुरुङले संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै स्थानीय रुपमा संस्थालाई हरेक रुपमा सहयोग गर्ने र प्रवासी नेपाली नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने संस्थालाई आफ्नो भरपुर साथ र सहयोग रहने विश्वास व्यक्त प्रकट गरे ।

सन् २०१६ मा स्थापना भएको नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले यूकेमा रहेका नेपाली बालबालिकालाई हाल प्रत्येक शनिबार दुईवटा नेपाली कक्षामार्फत नेपाली भाषा पढाउंदै आएको छ भने आउंदो शनिबारदेखि वाट्फोर्ड नेपाली समाजको सहकार्यमा अर्को एउटा नयाँ कक्षा पनि सञ्चालन गर्दैछ।

केन्द्रले विभिन्न समयमा नेपाली कला, संस्कृति, चाडपर्व सम्बन्धि कार्यक्रमहरु निरन्तर गर्दै आएको केन्द्रका महासचिव उमेश खड्काले जानकारी दिए ।

वनभोज कार्यकममा केन्द्रले प्लाटिनम जुब्लीको अवसरमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अनिमेश÷अनु सिलवाल, प्रशंसा÷प्रयास कंडेल र कृतिका कार्कीलाई संस्थाका अध्यक्ष भोला पनेरुले पुरस्कार प्रदान गरेका थिए ।

उनले कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

एकसय बढी सहभागी उक्त कार्यक्रममा केन्द्र आवद्ध स्वयंसेवकले खेलाडी र परिवारलाई पार्कमै खाना तयार पारेका थिए ।

सहभागी खेलाडीहरु र परिवारले केन्द्रले गरेको यो कार्यक्रमको खुलेरै प्रशंसा गर्दै कार्यक्रमलाई वार्षिक रुपमा निरन्तरता दिनुपर्नेमा चासो दिएको केन्द्रका महासचिव खड्काले जानकारी दिए ।

सफल टेनिस प्रतियोगितापछि खेलाडीहरुले 
अर्को वर्ष पनि प्रतियोगितामा भाग लिने प्रतिवद्धता ब्यक्त गरेका थिए भने यसपटक भाग नलिएका टेनिसप्रेमी खेलाडीहरुले ब्यक्तिगत रुममा सन्देश पठाउंदै प्रतियोगितामा भाग नलिएकामा पछुतो लागेको बताएका थिए ।

यो वर्षको टेनिस प्रतियोगिता हिमालयन ट्रेडिङ लिमिटेडले प्रायोजन गरेको थियो।

सन् २०१० मा स्थापित हिमालयन ट्रेडिङ लिमिटेडले उच्च गुणस्तरका कार्यस्थलमा लगाउने सुरक्षा पोशाक तथा पीपीई उत्पादन, आयात तथा वितरण गर्दै आएको छ।

हिमालयन ट्रेडिङ लिमिटेडले स्थापनाकालदेखि नै केन्द्रले गर्दै आएका कार्यक्रमको उच्च मूल्यांकनसहित प्रायोजन गर्ने गरेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रममा पूर्ण रुपमा सहयोग रहने प्रतिवद्धता कम्पनीका संस्थापक तथा व्यवसायिक निर्देशक राजन फुंयालले गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू