शनिबार, वैशाख २२, २०८१
23:52 | ०४:३७

‘भिक्टोरिया डे’ मा नेपाली समुदायको उत्साहजनक सहभागिता

नेपाली लिङ्क जुन ११, २०२२

लन्डन । बेलायतको रसमोर बरोमा बसोवासरत नेपाली समुदायले ‘भिक्टोरिया डे’ समारोहमा उत्साहजनक सहभागिता जनाएको छ ।

रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा प्रत्येक वर्ष गर्ने भिक्टोरिया डे यो पटक शनिबार भएको थियो ।

अल्डरसटको प्रिन्सेस हलबाट शुरु भएर नगर परिक्रमा गरिएको परेडमा ग्रेटर रसमोर नेपलिज कम्युनिटी, तमुधिं यूके, किरात राई यायोख्या, किरात याक्थुङ चुम्लुङ, मगर एसोसिएसन यूके, एनआरएनए यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, नौमति बाजा गुल्मी यूके, फार्नबरो साइ सेन्टर लगायत करिब १५ नेपाली संघसंस्थाले आ-आफ्नो ब्यानर बोकेर मार्च पास गर्दै झांकी प्रस्तुत गरेका थिए ।

अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म भएको उक्त समारोहमा विभिन्न जातजातीका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर उपस्थित भएका थिए । नेपाली समुदाय परेडमा समेत सहभागी भएको थियो । भूतपूर्व गोर्खा परिवार र अन्य समुदायले पनि सडक किनारमा बसेर परेडलाई हौसला प्रदान गरेका थिए ।

बेलायतका भेट्रान मन्त्री लियो डकर्टीसहित उक्त रयालीमा भिन्टाज मोटर, मोटर बाइकमा पनि बेलायतीहरु सहभागी भएका थिए ।

रानी भिक्टोरियाको रुपमा सिंगारिएर एक महिलालाई खुल्ला गाडीमा परिक्रमा गराइएको समारोहमा दशौं हजार सहभागी भएका शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका संरक्षक रोहित गुरुङले जनाए ।

‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहां पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ ।

रानी भिक्टोरियासंग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ र यसमा हजारौं सहभागी हुने गर्छन् ।

यसपटक अल्डरसट, फार्नबोरो आसपास र बक्र्ससायर क्षेत्रका नेपाली तथा बेलायती गरि करिब दश हजार दर्शक सहभागी थिए ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीकी उपाध्यक्ष एवं भिक्टोरिया डेमा कम्युनिटीका तर्फबाट संयोजक मयया केसी डंगोलले आफ्नो संस्थाले काउन्सिलसंग सहकार्य गरेको बताइन् ।

प्रिन्सेस हल अगाडि भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको थियो ।

युनियन स्ट्रिटमा विभिन्न संस्थाहरुले स्टल राखेका थिए । चिनिया समुदायले ड्रागन डान्स र पञ्जावीको भांग्रा नाच समेतले मानिसहरुको ध्यान आकृष्ट गरेको थियो ।

रसमोरस्थित विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउन रसमोर बरो काउन्सिल कम्युनिटी डेभलप्मेन्ट डिपार्टमेन्टकी जेनी एथर्टनको विशेष भूमिका थियो । तस्बिरहरु- शंकर श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू