शनिबार, वैशाख २२, २०८१
03:00 | ०७:४५

खाना स्टल राखेर गुम्बालाई १० हजार पाउन्ड संकलन

नेपाली लिङ्क जुन ८, २०२२


लन्डन – बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च (बीसीसीएलबी) ले खाना स्टल राखेर गुम्बाका लागि १० हजार पाउन्ड संकलन गरेको छ ।

तमुधिं यूकेको आयोजनामा जुन ४ तारिख २०२२ का दिन अल्डरसटमा आयोजित गोर्खा कपमा राखिएको खाना स्टलबाट १० हजार पाउन्ड जम्मा भएको कार्यक्रम संयोजन तथा व्यवस्थापन आमा प्रमुख दिलमाया गुरुङले जानकारी दिइन् । 

अध्यक्ष गोपाल तमाङ र आमा प्रमुख दिलमायाको नेतृत्वमा रहेको बीसीसीएलबीले लन्डनवासी बौद्ध अनुयायीहरुका लागि गुम्बा आवश्यक रहेको विषयलाई मध्यनजर गर्दै सहयोगका लागि खाना स्टल राखेको थियो । 

सिमसिमे पानीसँग सुरु भएको गोर्खा कपमा विस्तारै मौसम खुल्दै गएपछि खानाको व्यापार पनि वृद्धि भएको आमा प्रमुख गुरुङले बताइन् । उनले सेलरोटी, चिया र मम ग्राहकलाई पुरयाउन हम्मेहम्मे परेको सुनाइन् । उनले भनिन्, ‘१२० किलो चामलको पिठो,आलुदम, अचार र चिया दिदीबहिनीहरुले घरबाटै बनाएर ल्याउनुभएको थियो ।’

‘टेन्टभित्र उपस्थित भएका दिदीबहिनीहरुको कडा मेहनत, दाजुभाइहरुको साथ र सहयोग, कार्यक्रममा उपस्थित नभए पनि चन्दा दिनुहुने दाताहरु र बीसीसी यूकेको साथ र सहयोगले लन्डन शाखाले १०हजार पाउन्ड आम्दानी गर्न सफल भएको हो,’ दिलमायाले भनिन् । उनका अनुसार पूण्यकामका लागि गरेको दुःखको आम्दानीप्रति आमाहरु खुसी बनेका छन् । ग्राहकले पनि ‘अहिलेसम्मकै सबैभन्दा मिठो क्रन्ची सेल’ भन्दै प्रशंसा गरेका थिए । 

बीसीसीएलबीका अघ्यक्ष गोपाल तामाङ र संयोजक तथा आमा प्रमुख दिलमाया गुरुङले कार्यक्रम सफल हुनुमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने संस्थाका सदस्यलगायत बीसीसी यूके र अवसर जुराइदिने तमुधिंसहित सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू