आइतबार, जेठ १२, २०८२
19:35 | ००:२०

बेलायती महारानीको प्लाटिनम जुब्लीमा थापालाई ‘प्लाटिनम च्यम्पियन’ अवार्ड

नेपाली लिङ्क जुन ५, २०२२

लन्डन। बेलायती महारानी एलिजावेथ द्वितियको ‘प्लाटिनम जुब्ली’ को अवसरमा बेलायतस्थित एक नेपाली व्यवसायीले प्रतिष्ठित सम्मान पाएका छन्।

स्वयंसेवामार्फत् परोपकारी कार्यमा उल्लेख्य योगदान दिएबापत ‘होम इन्स्टेड’ ग्रीनवीचका निर्देशक फत्त थापा ‘प्लाटिनम च्याम्पियन’ का रुपमा सम्मानित भएका हुन्।

महारानीको राज्यरोहणको ७० वर्ष पूरा भएको खुशीयालीमा आयोजित चार दिने प्लाटिनम जुब्ली समारोहअन्तर्गत आइतबार सम्पन्न ‘बिग जुब्ली लञ्च’ कै अवसरमा थापाले प्लाटिनम च्याम्पियनको अवार्ड ग्रहण गरे।

‘द रोयल भोलुन्ट्री सर्भिस टीम’ ले प्लाटिनम जुब्लीका अवसरमा परोपकारी क्षेत्रमा उल्लेख्य योगदान गर्ने बेलायतभरका जम्मा ४ सय ९० जनालाई ‘प्लाटिनम च्याम्पियन’ का रुपमा सम्मान गरेको हो। उनीहरुमध्ये छनोटमा पर्न सफल ७० जनालाई ‘बिग जुब्ली लञ्च’ आमन्त्रण गरिंदा थापालाई पनि त्यहाँ निम्त्याइएको थियो।

यसअघि ‘प्लाटिनम च्याम्पियन’ का लागि देशभरबाट तीन हजार बढीको आवेदन परेको ‘द रोयल भोलुन्ट्री सर्भिस टीम’ ले जनाएको छ।

अवार्ड ग्रहण गरेपछि थापाले खुशी व्यक्त गरेका छन् । ‘मेरो लागि यो ठूलो निकै महत्वपूर्ण उपलब्धि हो’, थापाले नेपाली लिंकसंग भने, ‘महारानीको राज्यरोहणको ७० वर्ष पुग्नु जीवनमा विरलै घट्ना हो । किनकि यो क्षण फेरि आउने सम्भावना छैन् । अवार्डले समाज र मानवप्रति थप सेवा गर्ने जिम्मेवारी बोध पनि गराएको छ ।’

कार्यक्रममा सहभागी बेलायती राजकुमार चार्ल्स र क्यामिलाले पनि उनीहरुलाई बधाइ दिएका थिए ।

थापा निर्देशक रहेको ‘होम इन्स्टेड ग्रीनवीच एन्ड बेक्सली’ ले स्थानीय एल्डरली (वृद्ध–वृद्धा) र डिमेन्सिया रोगीलाई केयर उपलब्ध गराउँदै आएको छ । व्यवसायका साथै ज्येष्ठ नागरिकहरुको सेवामा समेत निरन्तर स्वयंसेवा गर्दै आएको कम्पनीले यसअघि थुप्रै च्यारिटी अवार्ड प्राप्त गरिसकेको छ।

उता, निर्देशक थापाकै समूहद्वारा सञ्चालित ‘स्किल एन्ड केयर’ का तर्फबाट पनि भूपू गोर्खा परिवारका सदस्यहरुलाई निरन्तर सहयोग गरेको छ ।

हरेक साता अंग्रेजी भाषा कक्षा सञ्चालनदेखि विभिन्न कार्यक्रमहरुमार्फत् वृद्ध–वृद्धाहरुलाई अन्तरघुलनको अवसर प्रदान गरिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू