शनिबार, जेठ ५, २०८१
09:08 | १३:५३

एनआरएनए यूके कार्यसमितिको निष्क्रियता बढेपछि अध्यक्ष गाहामगरले पोखे आक्रोश

नेपाली लिङ्क जुन ४, २०२२

लन्डन–एनआरएनए यूकेको २०२१–०२३ कार्यसमिति निष्क्रिय बनेपछि अध्यक्ष गाहामगरले आक्रोश पोखेका छन् ।

शुक्रबार राती कार्यसमितिलाई एक पत्र पठाउंदै गाहामगरले अहिलेसम्मकै सबैभन्दा बढी ७० प्रतिशत जनमत ल्याएर निर्वाचित आफ्नो कार्यसमिति झन् निष्क्रिय भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

पछिल्लो समय कार्यसमितिको बढ्दो निष्क्रियता, संघप्रति अनुत्तरदायी भूमिका, नकारात्मक टिप्पणी एवं राज्य परिषदतिर ग्रुपिजम बढेकोमा आफू निकै बेखुशी भएको पत्रमा उल्लेख छ ।

‘निर्वाचन अघि हामीले गरेका प्रतिवद्धतालाई विश्वास गरेर जनताले हामीलाई जिताउनुभयो । त्यो बेला हाम्रो एकमात्र उद्देश्य समाजका लागि केही योगदान दिने भन्ने थियो,’ गाहामगरको भनाइ छ, ‘तर विडम्बना आज म यो कार्यसमिति सबैभन्दा निष्क्रिय भएको देख्दा निराश भएको छु । तपाईंहरुले आफ्नो विभाग, समिति उपसमिति ‘होल्ड’ गरेर राख्नुभयो तर काममा सिन्को भांच्नु भएन । एनआरएनए यूकेलाई काम गर्न कसैले अवरोध गरेको थिएन ।’

अहिले एनआरएनए यूकेले गरेका कार्यक्रममा संयोजक र अध्यक्षमात्र उपस्थित हुने अवस्था आएको छ । गत १५ मेमा कार्यसमितिको प्रत्यक्ष बैठक बसेर शुक्रबार सांझको डा. महावीर पुनसंग स्वागत तथा अन्तरक्रिया कार्यक्रम र ४ जुन शनिबार अल्डरसस्थित क्वीन्स् एभिन्यूमा हुने नेपालीहरुको सबैभन्दा ठूलो जमघट ‘गोर्खा कप’ मा एनआरएनए यूकेको हेल्थ क्याम्प राख्ने कार्यक्रम पारित गरेको थियो ।

तर महाबीरको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता र युवा संयोजकमात्र उपस्थित थिए । गोर्खा कपको हेल्थ क्याम्प अध्यक्ष एक्लैले चलाउनुपर्ने अवस्था सृजना भएको गाहामगरले गुनासो गरेका छन् । केही साताअघि शिक्षामन्त्री देवेन्द्र पौडेलसंग भएको कार्यक्रममा पनि चार जना पदाधिकारीमात्र उपस्थित थिए ।

हरेक कार्यक्रम र बैठकमा ‘एपोलोजी’ पठाएर कार्यसमिति उम्कने गरेको गाहामगरको दावी छ ।

उनले आफू आर्मी पृष्ठभूमिको भएको र अरु कसैको साथ नभए एक्लैले संस्था हांकेर लैजान सक्ने बताउंदै एनआरएनए यूकेमा कसले के योगदान दियो, को सक्रिय थियो आदिबारे करिअर रिपोर्ट लेखिने उल्लेख गरेका छन् ।

कार्यसमितिका पदाधिकारी अनि सदस्यहरुले गरेको काम कारवाही सम्बन्धि प्रगतिको अर्धवार्षिक समिक्षा आउंदो ६ अगष्टमा हुन गइरहेको साधारण सभामा र करिअर रिपोर्टको पूर्ण विवरण महाधिवेशनमा पेश हुने पत्रमा छ ।

‘कार्यसमितिमा दुई तीन जना पदाधिकारी र एक दुई विभागले आफ्नो तर्फबाट योगदान गरिरहनुभएको छ, म उहांप्रति आभारी छु । तर, जसले केही योगदान गरिरहेको छैन्, पद र जिम्मेवारीमात्र ओगटेर बसेको छ, उसको मूल्यांकन अवश्य गरिनेछ’, उनले भनेका छन्, ‘त्यो मूल्यांकनले आगामी दिनमा तपाईंको चुनाव र समाजमा पर्ने प्रभाव कत्तिको प्रतिकुल हुन्छ म जिम्मेवारी लिन सक्दिन ।’

अब हुने संघको बैठक एनआरएनए यूके फेसबुक पेजबाट लाइभ गरेर जनतासमक्ष सार्वजनिक गर्ने उनको भनाइ छ । ‘त्यसबाट हाम्रो कार्यशैली कस्तो छ ? कामप्रति को कति गम्भीर छ ? आदिबारे मतदाताले छर्लंग देख्नेछन् । त्यहींबाटै ‘दुधको दुध, पानीको पानी’ हुनेछ । अहिले जस्तो पानी माथिको ओभानो बनेर अध्यक्षले सबै गल्ती कमजोरी खेप्नुपर्ने अवस्था रहन्न’, उनले भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू