मंगलबार, चैत ६, २०८०
11:32 | १७:१७

उतारचढावबीच बेलायती महारानीका ७० वर्ष

नेपाली लिङ्क जुन ३, २०२२

लन्डन — महारानी एलिजाबेथ द्वितीय आफैंमा एक जिउँदो इतिहास हुन् । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ९६ वर्षीया एलिजाबेथले जीवनमा थुप्रै उतारचढावको सामना गर्नुका साथै रेकर्ड पनि कायम गरेकी छन् ।

एलिजाबेथ विश्वकै लामो समय सत्तामा रहने शासकको सूचीमा फ्रान्सेली शासक लुइस १४ औं पछि दोस्रो स्थानमा छन् । बीबीसीका अनुसार उनी संसारमा सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिहरूमा पर्छिन् ।

एलिजाबेथको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री र १४ अमेरिकी राष्ट्रपति परिवर्तन भएका छन् । कम्तीमा ११७ देशको भ्रमण गरिसकेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पनि हुन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरिसकेकी एलिजाबेथ २१ हजार बढी समारोहमा सहभागी भइसकेकी छन् ।

बाल्यकालमा अधिकांश समय घोडा र कुकुरहरूसँग खेलेर बिताएकी एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । यसको अर्थ, उनी महारानी बन्ने सम्भावना लगभग शून्य थियो ।

तर सन् १९३६ डिसेम्बरमा राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि भने १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको हो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनिन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेकी हुन् ।

यिनै बेलायती महारानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेको ७० वर्ष पुग्दा ब्रिटेन उल्लासमय वातावरणमा झुमेको छ । ‘प्लेटिनम जुब्ली’ मनाउन सार्वजनिक बिदा दिइएको छ । बिहीबारदेखि चार दिनसम्म आयोजना हुने समारोहमा दसौं लाख मानिसले भाग लिइरहेका छन् । बिहीबार लन्डनमा आयोजित परेडमा सैयौं सैनिकसँगै ब्रिटेनको झन्डा बोकेका हजारौं मानिस सहभागी थिए ।

महारानी राजकुमार चार्ल्स, ड्युक अफ केन्टसहित अन्य शाही परिवारका सदस्यहरूमाझ राजदरबारको बाल्कोनीमा देखिएर सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएकी थिइन् । शुक्रबार सेन्ट पल्स गिर्जाघरमा ‘थ्यांक्स गिभिङ’ प्रार्थना गरिनेछ भने शनिबार राजदरबारमा आयोजना गरिने रात्रिभोजमा चर्चित कलाकारहरूले प्रस्तुति दिने छन् ।

राष्ट्रमण्डल सदस्य रहेका ग्रिनल्यान्डदेखि न्युजिल्यान्डसम्म ८० भन्दा बढी मुलुकमा आयोजना गरिने २ लाख बढी स्थानीय कार्यक्रममा लाखौं मानिस सहभागी हुने बेलायत सरकारले जनाएको छ ।

बेलायती संस्कृतिमन्त्री नदिन डोरिसले भनेकी छन्, ‘७० वर्षसम्म ब्रिटिस हुनुको अर्थ के हो भन्ने एउटा सर्वोच्च संकेतका रूपमा महारानी रहनुभएको छ । सुखमा होस् वा दुःखमा, उहाँको निरन्तर नेतृत्व र अडिग सेवा कैयौं मानिसका लागि प्रेरणाको रूपमा छ ।’

सत्तामा सात दशक बिताएकी एजिलाबेथले आफ्नो शासनकालमा निकै धेरै उतारचढाव भोगे पनि उनी कहिल्यै विचलित नभई राजतन्त्र सुरक्षित राखिन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तथा बेलायती परराष्ट्रमन्त्रीका सल्लाहकार समूहमा रहिसकेका डा. सूर्यप्रसाद सुवेदीका भनाइमा बेलायती महारानी एक शालीन व्यक्तित्व हुन् जसले स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्छिन् ।

‘महारानीलाई विश्वभरका युवा र वृद्धवृद्धाले आफ्नै सम्झेर सम्मान गर्दछन् । ७० वर्षसम्म महारानीका रूपमा उनले धेरै उतारचढाव भोगेकी छन् । संसारका राम्रा नराम्रा नेतालाई भेटेकी छन् । तर उनले सधैं सबैलाई राम्रो दृष्टिले बेलायतमा स्वागत गरिन्,’ सुवेदीले भने, ‘उनीबाट सबै व्यक्तिहरूले सिक्नुपर्ने पाठ धेरै छन् । उनको परिवारमा पनि धेरै प्रिय र असजिला सबै घटना घटे तर उनी विचलित भइनन् बरु सबैलाई सकारात्मक ऊर्जा प्रवाह गरिरहिन् । यी सबै उनका विशेषता हुन् ।’

९६ वर्षीय महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारीहरू जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्दै आएकी छन् । महारानीले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला रानी बन्ने स्पष्ट पारिसकेकी छन् ।

शाही इतिहासकार एवं नेटफिलिक्स शृंखला ‘द क्राउन’ की सल्लाहकार रोबर्ट लेसी भन्छिन्, ‘हामी २० वर्ष पहिलेको राज्यमा छैनौं, जब चार्ल्सको सिंहासनमा आउने सम्भावनामा ठूलो चुनौती थियो । मलाई लाग्छ, आज राजतन्त्र धेरै अश्वशक्तिको साथ ब्रिटिस स्नेहमा सवार छ, यो धेरै दशकदेखि थियो । महारानी एलिजाबेथका कारण यसो भएको हो । उहाँले आफ्नो सम्पूर्ण जीवन बेलायत र राष्ट्रमण्डलको सेवा गर्ने वाचा गर्नुभयो ।’

तस्बिर एपी

महारानीका उतारचढाव

दोस्रो विश्वयुद्धपछि ब्रिटेन तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथ सिंहासनमा विराजमान भइन् । समयक्रममा उनले कैयौं पारिवारिक झमेला बेहोर्नुप¥यो । सन् १९९६ मा राजकुमार चार्ल्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्धविच्छेदले शाही परिवारप्रति आलोचना बढ्न थाल्यो । त्यसको अर्को वर्ष डायनाको पेरिसमा कार दुर्घटनामा निधन भएपछि झन् मानिस नकारात्मक बन्दै गए ।

अत्यधिक लोकप्रिय राजकुमारी डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको जनस्नेह जित्ने चुनौती रानीले सामना गरिन् । राजकुमारहरू विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ मा पेरिस कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा राजकुमार चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरे । दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरे । रानीले गत वर्ष आफ्ना पति गुमाइन् । छोरा एन्ड्रयुलाई यौन दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो ।

नेपालीको मनमा शाही परिवार

विश्वका करोडौं मानिसजस्तै नेपालीको मनमा पनि बेलायती राजदरबार छ । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् । बेलायतस्थित नेपाली र ब्रिटिस गोर्खा समुदायले पनि रानीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

१२ हजार सैनिक र झन्डै ६ हजार परिवार रहेको सबैभन्दा ठूलो टिडवर्थ नेदरेभन एन्ड बुलफोर्ड ग्यारिजनका कमान्डिङ अफिसर टोल खाम्चा मगर महारानीको प्लेटिनम जुब्ली मनाउन पाउनु गौरवको विषय भएको बताउँछन् । बेलायती राजपरिवारको गोर्खा सैनिकप्रति गहिरो विश्वासले यो पर्व झन् विशेष भएको उनले बताए ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सैनिक परेड, ‘थ्यांक्स गिभिङ’ र रिसेप्सन समारोहमा सहभागी हुने दूतावासले जनाएको छ । नेपालकी राष्ट्रपतिले महारानीलाई बधाई सन्देश पठाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू