मंगलबार, जेठ १, २०८१
18:58 | २३:४३

भूतपूर्व गोर्खा मुद्दामा वार्ता गर्न बेलायतका तर्फबाट वार्ता कमिटी गठन

नेपाली लिङ्क जुन १, २०२२

लन्डन । लामो प्रतिक्षापछि भूतपूर्व गोर्खा मुद्दामा वार्ता गर्न बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ । बेलायती भेट्रान मन्त्री लियो डोकर्टीको संयोजकत्वमा कमिटी गठन भएको हो ।

नेपाल सरकारका तर्फबाट संयोजक तोकिएका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारले ३१ मे मंगलबार वार्ता कमिटी गठन गरिएको जनाएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

प्रमुख संयोजक राईको नेतृत्वमा सत्याग्रहका कार्यकारिणी सदस्यहरु आज बुधबार दूतावास पुगेका थिए । सो क्रममा राजदूत आचार्यले बेलायतले मंगलबार कमिटी गठन गरेको जनाउंदै केही साताभित्र नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच छलफल हुने जानकारी दिएका हुन् ।

राईका अनुसार, अबको केही साताभित्र दुई देशका सरकारी प्रतिनिधिबीच बैठक बस्नेछ र सो बैठकले कहिले कसरी वार्ता गर्ने, ‘टिओआर’ के हुने आदि विषयमा छलफल गर्नेछ ।

सत्याग्रहले उक्त बैठक पछि वार्ता मिति नदिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । ‘अनि त्यो आन्दोलन प्राविधिक प्रतिवेदनमा लेखिएको कुरा बिना शर्त कार्यान्वयन गरिएमात्र रोकिने छ’- प्रमुख संयोजक राईले राजदूत समक्ष चेतावनी दिएका छन् ।

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई

सत्याग्रह प्रमुख संयोजक राईले अहिले पनि कतिपय व्यक्ति र संस्थाले ‘आइपीसी ७’ का कुरा निकालेर वार्ता बिथोल्न खोजिरहेको सूचना प्राप्त भएको जनाउंदै भविष्यमा त्यस्ता व्यक्तिको भण्डाफोर गरिने चेतावनी समेत दिए ।

गत वर्ष १९ अगष्टमा बेलायत सरकारले पत्र पठाएर वार्ता छिट्टै शुरु हुने प्रतिवद्धता व्यक्त गरेपछि भूतपूर्व गोर्खाहरुले आमरण अनसन तोडेका थिए । तर रुस युक्रेन युद्ध एवं अन्य विविध कारणले वार्ता विलम्ब भएपछि गोर्खाहरु रुष्ट रहेका बेला बेलायत सरकारले वार्ता कमिटी गठन गरिएको जनाउ दिएपछि उनीहरु खुशी र सकारात्मक देखिएका छन् ।

सत्याग्रहले गोर्खाहरुलाई अब केही समय धैर्य गर्न र बाहिरी हल्लाको पछि नलाग्न पनि अपिल गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू