बुधबार, जेठ २, २०८१
20:15 | ०१:००

बेलायतमा नेपाली ओपन कन्सर्ट, हजारौँ दर्शकमाझ दर्जन राष्ट्रिय कलाकारको प्रस्तुति

नेपाली लिङ्क मे २८, २०२२

लन्डन-कोभिड महामारीका कारण विगत दुई वर्ष रोकिएको नेपाली ओपन कन्सर्टको चौधौं संस्करण शनिबार बेलायतमा सम्पन्न भएको छ। 

मगर एशोसिएसन यूकेको आयोजनामा फार्नबरोस्थित फार्नबरो फुटबल क्लबमा सम्पन्न कार्यक्रममा करिब एक दर्जन राष्ट्रिय कलाकारले प्रस्तुति दिए । 

बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका पच्चीस सय बढी दर्शक घमाइलो मौसममा खुला ग्राउण्डमा सांगीतिक माहोलमा झुमे। 

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली ओपन कन्सर्टले संगीतमार्फत् बेलायतमा नेपाली कला, संस्कृतिको जगेर्नामा सहयोग पुर्‍याइरहेको धारणा व्यक्त गरे । उनले संगीतमार्फत एकताको सन्देश दिने कार्यक्रमको मुल उद्देश्यबाट आफू प्रभावित भएको पनि बताए ।  

विशेष अतिथि स्थानीय रश्मोर बरोका मेयर जोन मार्सले नेपालीहरु मौलिक संगीत र संस्कृतिको धनी रहेको भन्दै प्रशंसा गरे । 

कार्यक्रमको अध्यक्षता गरेकी मगर एशोसिएसन यूकेकी अध्यक्ष सीता पुर्जा पुनले आफ्नो संस्थाले बेलायतमा नेपाली संगीत, कला, संस्कृतिको प्रवर्द्धनका लागि पहलस्वरुप नेपाली ओपन कन्सर्ट गर्दै आएको बताइन् । 

कार्यक्रमको शुरुमा कन्सर्टका प्रमुख संयोजक एवम् एशोसिएसनका वरिष्ठ उपाध्यक्ष लालबहादुर पुनले स्वागत गरेका थिए । कार्यक्रमको औपचारिक सत्र महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए । 

औपचारिक सत्रको समानपनसंगै दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो । त्यस अवसरमा नेपालबाट आएका कयौं राष्ट्रिय कलाकारसहित एक दर्जन कलाकारले साँगीतिक प्रस्तुति गरे । त्यसक्रममा एलिना गुरुङ, तारा श्रीष, शान्तिरानी परियार, अनुपा थापा मगर, रेशम निर्दोष, हेमन्त रसाइली, अस्मिता डल्लाकोटी, विमला श्रीष, विशाल रायमाझीसहितका चर्चित गायकगायिकाले आफ्नो सांगीतिक प्रस्तुति गरे । मोडल रीना थापा, बेलायतस्थित मिफरंग समूह लगायतले आकर्षक नृत्यहरु देखाए। 

सम्पूर्ण कलाकारहरुले संयुक्त रुपमा प्रस्तुत गरेको राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट शुरु भएको कार्यक्रमको अन्त्यमा भने कलाकारले लाइभ दोहोरी पनि प्रस्तुत गरे।  

सोहि अवसरमा नेपालको पश्चिमी क्षेत्रमा प्रचलित मौलिक सारन्य नाचको पनि विशेष प्रस्तुति गरिएको थियो। सांस्कृतिक कार्यक्रम सञ्चालन मनसुदन थापा, रुपा राना, सरु राना गुरुङ, दीपक मैथाने थापा, जानकी रोका, सुस्मिता थापा लगायतले गरेका थिए। 

कार्यक्रम हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा नेपाली भेला भएका थिए। कयौं क्षेत्रबाटै बस नै रिजर्भ गरेर समेत दर्शक आइपुगेका थिए। कार्यक्रमस्थलमा नेपाली खाना तथा सामग्रीका साथै विभिन्न व्यापार-व्यवसाय र च्यारिटीका एक दर्जन बढी स्टलहरु पनि राखिएका थिए।

कार्यक्रममा प्रस्तुति दिने भनिएका चर्चित गायक प्रकाश सपूत र भूपेन्द्र थापा भने विशेष कारणले उपस्थित हुन नसकेको जानकारी गराउंदै आयोजकले क्षमा याचना गरेका छन् । तस्बिरहरु- मिलन तमु र एस के गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू