शुक्रबार, वैशाख १४, २०८१
22:56 | ०३:४१

‘मर्न नेपाल जान पाए केही ज्यादा बाँचिन्थ्यो कि’

प्रकाश केसी मे २८, २०२२

लन्डनको पश्चिमतर्फ रहेको फेल्थामको उत्तरी खण्ड । फराकिलो बाटोलाई सीधा छोडेर दायाँतर्फ मोडिएपछि साँघुरिँदै गएको सडक जो साघुँरिएर परिणत भएको गल्लीको पुछारमा रहेका घरहरुको पल्लो छेउको घरको अगाडि रहेको सानो बारीको छेउमा सयपत्रीका बोटहरुमा पानी हाल्दै गरेका नेपाली बृद्धले ढोकाको आलीमा टुक्रुक्क बस्दै भने– ‘मर्न त नेपाल नै जानुपाए केही बढ्तै बाँचिन्थ्यो कि बाबु !’

उनको नाम बताउनु जरुरत रहेन, न त उनको जातै जताउनु जरुरी थियो । एकै वाक्यमा ठूलै कथा जन्माउने व्यक्तिका मनमा कति होलान् पीडाहरु ! नचाहँदा नचाहँदै अनायास बोल्न पुगेका नेपाली उक्त वृद्धसँग कति होलान् बोल्न खोज्ने चाहनाहरु ! चुपचापसँग हेरे मात्र पुग्छ, उनले नबोलीकनै व्यथा सुशेलिरहेका हुन्छन् ।

घर अगाडिको दायाँतर्फको कुनामा हतारमा कुँदेका जस्ता लाग्ने काठका ससाना बक्साहरु, पिर्काहरु अनि छिप्पिएको बाँसले बनाएको लाग्ने सानासाना डोकोहरुलाई बाँधेर राखिएको तर्फ हेर्दै भन्न भ्याएका थिए –‘मैले जान्या शिपहरु यहाँ बाहिर मिल्किएका हुन् बाबु !’

छोराको भविष्य राम्रो हुन्छ भनेर अरु साथीहरु जस्तै गरी २००६ मा लन्डन भित्रिएका उनी मूलतः गोर्खा जिल्लाका हुन् । उबेला बच्चै रहेको उनको एक मात्र छोरो अहिले दुई आफ्नै बच्चाबच्चीका बाबु बनेको छ । समय बदलिएको छ भन्दै अर्कै जातसँग विवाह गरेको उनको छोरो उनीजस्तो लन्डन छिरेको केही वर्षदेखि नै देखिएको थिएन, विवाहपछि त नेपाली जस्तो पनि रहेन –उनी यतिखेर बेलायत छिरेर आफूले ठूलो भूल गरेको निर्धक्क मान्दछन् । तर त्यसरी आत्ममन्थन गर्नु धेरै धेरै ढिलो भएको पनि ठान्दछन् । नाति नातिनीसँग उनी बोल्न सक्दैनन्, किनकि तिनले नेपाली बोल्दैनन्, अनि नेपाली बुझ्दैनन् अनि उनी तिनीहरुजसरी अँग्रेजी बोल्न सक्दैनन् ।

बुहारी आधुनिक बेलायती नेपाली हुन्, उनी नेपाली बुझ्छिन् तर बोल्दिनन्, उनैको सिको गर्दै छोरो पनि नेपाली बोल्दैन । सात सालअघि श्रीमती गुमाएपछि आक्कलझुक्कल फेल्थामस्थित नेपालीको दोकानमा गएर आफ्नै उमेरका बूढाहरुसँग बोल्ने नेपाली भाषा विगत तीन वर्षदेखि सायदै बोले होलान् । अचेल उनलाई हिँड्न साह्रै गाह्रो भएको छ, दम बढ्छ, खुट्टा दुख्छ, रिँगटा लाग्छ । नेपालमा उनको काकी नातिनीबाहेक आफ्नो भन्नु कोही छैन र उनीसँग पनि नबोलेको वर्षौं वर्षौं भएको छ, सायद उनले चिन्दैनन् पनि होला ।

बेलायतमा कोरोना भाइरसको अघिल्लो वर्षदेखि बढेको संक्रमणपछि उनको छोरो फर्लो (सरकारले कम्पनीको तर्फबाट दिएको तलब) मा छन्, काम छैन, सरकारबाट प्राप्त ८० प्रतिशत तलवमा धानिएको उनको छोरोलाई यो वर्षको भाइरसको दोस्रो लहरको प्रभावले उनकी बुहारीले पनि साथ दिएकी छिन्, उनी पनि फर्लोमा छिन् ।

रिटायर्ड भएर नेपाल फर्केपछिका २८ वर्षमध्ये कुनै एक दिन पनि उनी आफ्नी श्रीमतीसँग टाढिएका थिएनन्, सँधै साथ रहने, सँधै सँगै हिँड्ने गरेका उनलाई लाग्थ्यो, त्यस्तो साथले माया झन् गहिरो हुँदै जान्छ, एकअर्काको कमजोरी पनि प्यारो र आफ्नै लाग्दै जान्छ तर त्यसो नहुँदो रहेछ, खासगरी बेलायतमा, उनलाई अचेल लाग्दछ ।

लगभग दुई वर्ष भइसक्यो, घरमा एक दिन पनि छोरा र बुहारी झगडा नगरेर बसेका छैनन् । कहिले छोरा, बुहारीसँग, कहिले नातिनातिनीसँग त कहिले उनैसँग रिसाउँथ्यो त कहिले बुहारी पनि त्यसरी नै आफ्ना लोग्नेसँग, बच्चाबच्चीसँग अनि कहिले उनीसँग पनि रिसाउँदथिइन् । उनीसँग नरिसाउने त घरमा कोही छैन । धन्न अझै उनको हातमा पेन्सन पर्दछ, यदि त्यो नहुँदो हो त, उनी सायदै घरभित्र रहेका हुन्थे होलान् !

माया भनेको आकर्षणको उपल्लो रुप हो भन्ने ठान्ने यो समयका युवायुवतीहरुले आकर्षणको रंगहरु समयको अनवरत प्रवाहमा खुइलिएर हराएको पत्तै पाउँदैनन् अनि अनायासै बेरुपको स्वरुप अँगालेको मायाको कठोर अनुभूतिको आभास पाउँदा चिस्सिसकेको चियाको अपच श्वाद जस्तो सम्वन्ध लाग्छन् तिनलाई, र त झगडाहरु आखिरमा पारपाचुकेमा बदलिन्छन् र तिनका सम्योगका अवधिमा कमाइएका सन्तानहरुका मानसिकतामा पारिवारिक कितावका ठेलीहरुजस्ता कष्टकर लाग्छन् ।

केहीअगाडि बेलायतमा गरिएको अनुसन्धानमा यो महामारीको प्रत्यक्ष वा अप्रत्यक्ष कारणले तीस प्रतिशत ज्यादा पारपाचुकेका केसहरु थपिएका थिए भने घरेलु हिँसा ४० प्रतिशतको हाराहारीमा बढेको थियो ।

मानव सँधै सही र सटिक हुँदैनन्, बोल्दैनन् । गल्ती वा भुलहरु गरिएका हुन्छन् । फरक यति हो कि, गल्ती वा भूल गरिने वातावरण वा कारणलाई पत्ता लगाई आयन्दा नगर्ने प्रयास इमान्दारिताका साथ हुने स्थिति दुवै वा सबै पक्षले राखे, समस्याको, झगडाको, विसँगतिको हल निकाल्न सकिन्छ, तर आजकल सायद सम्वन्ध निर्विकल्प नहुनुको वा नमानिनुको परिणाम होला, झगडाहरु मत्थर भएर सम्वन्धहरु पुनारावृत्ति सायदै हुन्छन् यहाँ । नेपाली वृद्ध बाबुसँग आफ्नो छोरा अनि बुहारीलाई त्यसरी सम्झाउन सक्ने सामर्थ्य छैन, उनीहरु उनलाई सुन्नै पनि त चाहँदैनन् ।

सँधैको कचकचले वाक्क भएका उनले एकपटक आफूलाई केयरहोममा पठाइदिनका लागि छोरोलाई बिन्ति गर्दा, समाजमा उसको बदनाम गराउने उनको मनासय रहेको आरोप छोरोको थियो, त्यसपछि सो कुरामा उनी बोल्नै सकेका छैनन् । घरमा उनीबाहेक कसैलाई सायदै थाहा होला कि को कतिखेर घर आउँछन् या आउँदैनन्, या कतिखेर जान्छन्, वा जाँदैनन् भन्ने । उनी छोराको घरको बिग्रँदो अवस्था र परिवारको विषम परिवेश देखेर अनि भोगेर पलपल तीव्र गतिमा आफू मर्दै गएको सम्झन्छन् र सायद त्यसैले भन्छन् –‘मर्न नेपाल जान पाए त केही ज्यादा बाँचिन्थ्यो कि !’

बुढ्यौलिएका समयमा साँघुरिएर जाने दैनिक कृयाकलापहरुका चाहनाले मानसिकतामा भने उपद्रो मच्याउन थाल्दछ । मानिसहरु बुढेसकालमा ज्ञानी मानिन्छन् र तिनले कमाएका अनुभवहरुको फेहरिस्त सुन्न खासमा जमातहरु खडा हुन्छन्, नेपालतिर । त्यही जमातमा सुनाउने अनुभव आदिका गफहरुले जीवन्त राख्ने नेपाली वृद्धहरुलाई बेलायतको नेपाली समाजमा एकाँकी लाग्नु अति होइन, किनकि वस्तुवादी समाजमा उमेर होइन, अध्ययनलाई महत्व दिने गरिन्छ । त्यसैले पनि हुनसक्दछ, अक्सर मानिसहरु बुढेशकालमा यहाँ फत्फताउने गर्दछन् एक्लै ।

मानव अधिकारमा पनि व्यक्तिगत स्वतन्त्रताले चरम रुप लिएको लाग्ने बेलायती समाजमा बालबच्चालाई आफ” मुताविक कुमालेले माटोलाई स्वरुप दिएजस्तो गरी होइन, समाजले साँचेकोअनुरुप देख्न वाध्य अभिभावकहरुले अक्सर तिनको १८ वर्ष नाघेपछि मुक्तिको श्वास फेर्दछन् यहाँ, अक्सर अभिभावहरु त्यसपछि स्वतन्त्र महशुस गर्दछन् यहाँ भन्ने अति होइन ।

यहाँ कतिपय नेपाली परिवारले नै कण्टकर अभिभावकत्व भोगिरहेका छन् । आफ्नो संस्कृतिअनुरुप ढाल्न नसकिएका तिनका सन्तानको व्यक्तिगत स्वतन्त्रताको असर भने तिनीहरु १८ नाघेपछि पनि यथावत राख्न वाध्य भएका हुन्छन् यहाँ नेपाली अभिभावकहरु ।

कतिपय बाबुआमाहरु कतै आफ्नै आँखाअगाडि, छोरा तथा छोरीको वैवाहिक जीवन भत्किरहेको हेर्न वाध्य हुन्छन् भने कतै तिनै छोराछोरीको अग्रगामी व्यक्तिगत स्वतन्त्रता भोग्न अभिसप्त हुन्छन् । कथाहरु नेपाली सँस्कृतिविपरीत भएको यति धेरै छन् नजिकै कि लेख्न साध्य हुँदैन तर छोराछोरीकै भविष्यको लागि भनी बेलायत भित्रिएका थुप्रै नेपाली वृद्धहरु दिक्क मानेर सडकको छेउछाउ हिँड्दै गरेका या घरका कुनै कुनामा मृत्यु कुरिरहेका देखिन्छन्, भेटिन्छन्, मात्र समय निकाल्नुपर्दछ, तिनीहरुसँग अव्यक्त रहेका तिनका कथाहरु व्यथासरी धाराप्रवाह सुन्न सकिन्छ ।

तनले बेलायतमा थन्किएका ती वृद्धवृद्धाहरु मनले नेपालकै आफ्नै गाउँपाखाहरुमा बरालिरहेका हुन्छन् ।

यस्तै कठोर परिवेशको मानसिकतामा बाँचिरहेका नेपाली धेरै संख्याका वृद्धहरुलाई समय वा जीवन काट्न कति मुश्किल परेको हुँदो हो ! त्यसैले सायद भन्दा हुन् –‘मर्नका लागि नेपाल जान पाए त केही ज्यादा बाँचिन्थ्यो कि !’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू