बुधबार, जेठ २, २०८१
20:50 | ०१:३५

मन्त्री पौडेललाई एनआरएनए यूकेको ज्ञापन, नागरिकता निरन्तरताको प्रत्याभूति गर्न जोडदार माग

नेपाली लिङ्क मे २६, २०२२


लण्डन–गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।  

हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालय अल्डरसटमा स्वागत गर्दै संघले एक ज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ ।

अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । अध्यक्ष गाहा मगर र उपाध्यक्ष नारायणदत्त कंडेलले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सम्पत्तिको सुरक्षा, भूतपूर्व गोरखा सैनिकहरुलाई न्याय, लगानी मैत्री वातावरण निर्माण, अध्ययनका लागि बेलायत आउने विद्यार्थीका समस्या समाधान आदि गर्न माग छ ।  

ज्ञापन जस्ताको तस्तै: 

मिति: २५ मे २०२२ 

माननीय मन्त्री देवेन्द्र पौडेलज्यू 

शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्रालय

नेपाल सरकार, काठमाण्डौ

ज्ञापन पत्र

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ स्थापित गैरआवासीय नेपाली संघ  नेपाल, नेपालमा बस्ने नेपाली र नेपाल बाहिर रहेका नेपालीहरुको हितमा कार्य गर्ने संसारभरि रहेका नेपालीहरुको साझा संस्था हो । त्यसैले नेपालको समुन्नती र विकास, आर्थिक सामाजिक तथा राजनीतिक रुपान्तरण तथा विदेशमा बस्ने नेपालीहरुको अधिकार संरक्षण संवर्धन गैरआवासीय नेपाली संघको प्रत्यक्ष सरोकारको क्षेत्र हो । यी लगायत मातृभूमि नेपाल र गैरआवासीय नेपालीहरुको हित जोडिएका क्षेत्रहरुमा कार्य गर्न सरकारको प्रत्यक्ष र सकारात्मक सहयोग आवश्यक हुन जान्छ ।

अतः नेपालको मूल कानुन, ऐन नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नु पर्ने विषयहरु, नियम कानुनले समेटेका र देशले नीतिगत रुपमा स्वीकार गरिएका भए पनि अस्पष्टता भएका र कार्यान्वयन हुन नसकेका विषयहरु र सरकारको दृष्टि नपुगेका कतिपय गैरआवासीय नेपालीका लागि प्रत्यक्ष सरोकार राख्ने विषयहरुका सम्बन्धमा नेपाल सरकारको ध्यान आकृष्ट होस् भन्नका लागि गैरआवासीय नेपाली संघ यूके माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष निम्नलिखित मागसहित यो ज्ञापन पत्र प्रस्तुत गर्दछ ।

१. नागरिकताको निरन्तरताका सम्बन्धमा 

गैरआवासीय नेपालीहरु नेपालको वंशज नागरिकको रुपमा विदेशिएका नेपालीहरु हुन् । आर्थिक तथा अन्य कारणले देश छोडेका यी जन्मसिद्ध नेपालीहरुलाई उनीहरुको नेपाली वंश, परंपरा भेषभुषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसंगको नातालाई राजनीतिक रुपमा चुँडाउने कार्य दीर्घकालिन रुपमा नेपाल र नेपालीको हितमा छैन । 

अतः गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

२. सम्पत्तिको सुरक्षाका सम्बन्धमा 

(क) गैरआवासीय नेपालीहरुको नेपालमा रहेको अचल सम्पत्तिका सम्बन्धमा सरकारको अस्पष्ट नीति तथा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा नेपालमा स्पष्ट नीति नियमको अभाव छ । फलस्वरुप गैरआवासीय नेपालीहरु नेपालमा रहेको उनीहरुको अचल सम्पत्तिका सम्बन्धमा असुरक्षित महसुस गरिरहेका छन् भने अचल सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा व्याप्त प्रशासनिक झन्झटका कारण गैरकानूनी बाटोबाट नेपालको सम्पत्ति बाहिरिएको तर्फ ध्यान दिन गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारलाई जोडदार माग गर्दछ । 

(ख) नेपालको संविधानले ब्यक्तिलाई सम्पत्तिको पूर्ण अधिकारको ग्यारेन्टी गरिसकेको अवस्थामा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा आम  नेपाली र गैरआवासीय नेपालीको विचमा कुनै भेदभाव नहुने गरी स्पष्ट कानूनी ब्यवस्था गर्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

३. गोरखा सैनिकहरुलाई न्याय दिलाउने सम्बन्धमा 

बेलायती सैनिक सेवामा कार्यरत तथा सेवानिवृत्त गोरखा सैनिक र उनीहरुका परिवारको अधिकार सेवा सुविधा तथा निवृत्ति भरणका सम्बन्धमा भएको भेदभाव  तथा ऐतिहासिक  रुपमा भएको शोषण तथा अन्याय अन्त्य गरि वीर गोरखालीलाई न्याय दिलाउन, सम्बन्धित सरोकारवालाहरुको सहभागितामा नेपाल सरकारले तुरुन्त बेलायत सरकारसंग वार्ता शुरु गर्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

४. लगानी मैत्री वातावरण निर्माण गर्ने सम्बन्धमा 

गैरआवासीय नेपालीहरु नेपालको समग्र विकासमा सहभागी हुन चाहन्छन् । नेपालको औद्योगिक तथा व्यापारिक नीति,  बैकिङ्ग प्रणाली, कर प्रणाली तथा लगानि र प्रतिफलसंग जोडिएका कानुनी झन्झटहरुलाई हटाउन गैरआवासीय नेपाली संघको समेत संलग्नतामा कानुन तथा नीतिगत विषमताको अध्ययन र आवश्यक पुनरावलोकन गरी नेपालको आर्थिक तथा भौतिक विकासमा गैरआवासीय नेपालीहरुको योगदानलाई बढाउन अनुकूल वातावरण तयार पार्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

५. अध्ययनका लागि बेलायत आउने विद्यार्थीहरुका सम्बन्धमा 

नेपालबाट बेलायतमा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुले अध्ययन तथा रोजगारीको समुचित मौका नपाएको तथा उनीहरुको दैनिकी जटिल बन्दै गैरहेका जानकारी आइरहेका छन् । 

कतिपय अवस्थामा भाषा लगायतको अयोग्यता तथा अपर्याप्त  कागजातका कारण बेलायत प्रवेशमा समेत रोक लगाइएर फर्काइएको अवस्था छ । यी सबै समस्या कुनै न कुनै रुपमा नेपालमा रहेका एजेन्ट (दलाल) को गलत सल्लाहले भूमिका खेलेको छ भने शैक्षिक यात्राका नाममा नेपाली युवाहरुको भविष्य माथि खेलवाड गर्ने शैक्षिक ब्यापारीहरुलाई नियमन गर्ने सरकारको कठोर नीतिको पनि अभाव छ । 

अतः वैदेशिक अध्ययनका लागि सहजीकरणका लागि खुलेका संस्थाहरुलाई कठोर नियमन गरी जिम्मेवार बनाउन तथा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको भविष्य सुनिष्चित गर्न आवश्यक कदम चाल्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

भवदीय

प्रेम गाहा मगर, अध्यक्ष

गैर आवासीय नेपाली संघ यूके

नारायणदत्त कंडेल, उपाध्यक्ष

गैर आवासीय नेपाली संघ, यूके तथा संयोजक कानून विभाग

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू