शुक्रबार, वैशाख ७, २०८१
10:25 | १५:१०

लन्डन ट्राफल्फर स्क्वायरमा आज बुद्धजयन्ती मनाइंदै, प्रमुख अतिथि मन्त्री पौडेल

नेपाली लिङ्क मे २२, २०२२

लन्डन। बेलायतका नेपालीमाझ वर्षभरकै प्रतिक्षित बुद्धजयन्ती कार्यक्रम आइतबार आयोजना हुँदैछ। 

बुद्ध फाउन्डेसन यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुन लागेको हो । 

दिउँसो तीनदेखि साँझ छ बजेसम्मलाई निर्धारित कार्यक्रममा बेलायतभरबाट सयौं नेपालीको सहभागिता अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन बीसीसी यूकेबाट बस नै रिजर्भ गरेर आउने तयारी छ भने मिडल्यान्ड क्षेत्रबाट यसपटक उल्लेख्य सहभागिता हुन लागेको आयोजकले बताएका छन्।  

कार्यक्रममा नेपालका शिक्षामन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन्। त्यस्तै, नेपालबाट आएका ‘वर्ल्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकबाट राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि रहनेछन्।  

दिनहुँ संसारभरका हजारौँ मानिसको ओहोरदोहोर हुने ट्राफल्गर स्क्वायरमा आयोजना हुने कार्यक्रममार्फत् विश्व शान्तिका लागि बुद्धको सन्देश प्रचारप्रसार साथै  विश्वमाझ नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।  

कार्यक्रममा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने आयोजकको तयारी छ। मौलिक धिमे बाजा, भैरव नाच, थारु नाचददेखि गयिका शर्मिला बर्देवा र गायक दीपक थापाको गायन पनि प्रस्तुत हुनेछन्।

कार्यक्रम्ममा बीसीसी यूकेको संयोजनमा शान्तिपूजा, स्याल्पा तेन्जिङ रिम्पोचेको प्रवचन र विश्व शान्तिको कामनासहित सामूहिक दीप प्रज्वलन पनि गरिनेछ।

कार्यक्रम संयोजन फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले गर्दैछन्। अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा हुने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई (लारा) र सुर्य गुरुङले गर्नेछन्।  

कार्यक्रममा सहभागी हुनेहरुलाई नेपालको मौलिक पहिचान र संस्कृति झल्किने पहिरनमा उपस्थित हुन आव्हान गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू