बिहीबार, वैशाख १३, २०८१
22:13 | ०२:५८

बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर गुरुङ राजनीतिमा ‘कमब्याक’

नेपाली लिङ्क मे १८, २०२२

धन गुरुङ

लन्डन । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन गुरुङ केही समयको विश्रामपछि फेरि राजनीतिमा ‘कमब्याक’ भएका छन् ।

उनी आउंदो वर्ष हुने स्थानीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट फोकस्टन एण्ड हाइथ डिष्ट्रिक्ट एवं फोकस्टन नगरको चेरिटन वडामा काउन्सिलर उम्मेदवार छनोट भएका छन् ।

९ जना आकांक्षीमध्येबाट आफू छानिएको गुरुङले जनाए । स्थानीय क्षेत्रमा सुरक्षा र विकास एवं विविधतामा एकता एजेण्डा लिएर उनी आउंदो वर्ष चुनावी मैदानमा उत्रिनेछन् ।

सन् २००७ मा फोकस्टन टाउनबाट लिबरल डेमोक्रयाटिक पार्टीको प्रतिनिधित्व गर्दै काउन्सिलर बनेर एकाएक चर्चामा आएका गुरुङ सन् २०१२ मा फेरि काउन्सिलर प्रतिष्पर्धामा पराजित भए । लिब्डेमको लोकप्रियता घटेपछि त्यसको असर उनलाई पनि परयो । त्यसपछि उनी राजनीतिबाट ओझेल परे ।

सन् २०१२ देखि बेलायत र नेपालमा सामाजिक काम एवं पल्टन छंदा देखिको सांगीतिक तिर्सना मेटाउन सक्रिय रहे उनी । उनले यसबीचमा कयौं एल्बम र म्यूजिक भिडियो सार्वजनिक गरे ।

गोर्खा मेमोरियल फण्ड स्थापना गरेर सन् २०१५ मा फोकस्टनमा गोर्खा स्मारक बनाएपछि उनी कन्जरभेटिभको सदस्य भए तर समाजसेवामै अडिग भए । नेपालको मेचीनगर नगरपालिकामा कम्प्युटर वितरणदेखि कोभिड महामारीमा जिल्लामा खाद्यान्न, औषधि र अक्सिजन सिलिण्डर वितरण गरेर प्रशंसा बटुलेका उनी अब फेरि राजनीतिमा होमिन लागेका हुन् ।

‘गोर्खा रेजिमेन्ट रहेको नगरमा गोर्खाको प्रतिनिधित्व हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र साथीहरुको चाहनाले पुनः सक्रिय हुने सोच बनाएं’, गुरुङले नेपालीलिंकसंग भने, ‘गोर्खा जस्टिस क्याम्पियन, गोर्खा मेमोरियल जस्ता प्रोजेक्टको सफलता र सामाजिक काममा आत्मसन्तुष्टिपछि राजनीतिमै फर्किएको छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू