शनिबार, वैशाख ८, २०८१
08:39 | १३:२४

बिसीसी यूकेले धार्मिक पूजापाठका साथ मनायो बुद्ध जयन्ती

नेपाली लिङ्क मे १८, २०२२

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले धार्मिक पूजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ । 

गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा बुद्ध जयन्ती मनाइएको हो । 

कार्यक्रमको पहिलो चरणमा भुटानका श्रद्धेय गुरु झोन्सार खेन्चे रिन्पोछेले जूममार्फत बौद्ध धर्म सम्बन्धी प्रवचन दिएका थिए । उक्त प्रवचनमा बिसीसी यूके भक्तजनहरु गुम्बामा उपस्थित संगसंगै जूममार्फत समेत सहभागी भएका थिए । 

खेन्चे रिन्पोछेको दिएको प्रवचनलाई बिसीसी यूकेका खेन रिन्पोछे कुन्ख्याप गुरुले नेपालीमा अनुवाद गरेका थिए भने जूम प्रविधि संचालनमा बिसीसी यूकेका उपाध्यक्ष रोबिन गुरुङले बिशेष भूमिका खेलेका थिए । 

बिहान १०.३० बजे औपचारिक रुपमा शुरु भएको उक्त कार्यक्रममा बिसीसी यूकेका खेन रिन्पोछे कुन्ख्यापका गुरुहरुले बुद्ध शाक्यमुनीको बाह्र लीलाको प्रार्थना, आयु, गणचक्र, महाकाला र मंगल पाठ गरेका थिए । 

त्यस्तै, सो अवसरमा गुम्बा परिसरभित्र बुद्धिष्ट च्याप्लेन ब्रिटिश आर्म फोर्सेजको लुंदा अर्थात् झण्डा अनावरण गरिएको थियो । 

त्यस्तै, बिसीसी यूकेका खेन रिन्पोछे कुन्ख्याप गुरुले बुद्धको जीवनी कथाबारे प्रवचन दिएका थिए भने बिसीसी यूकेका लोपेन नोर्बुले बुद्धिजम र मेडिटेशनबारे जानकारी गराएका थिए । 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेर शान्ति, करुणा, दया, मानवताबारे दिएको सन्देश अहिले पनि त्यतिकै मार्गदर्शक भएको बताउदै बुद्ध पूर्णिमाको शुभकामना दिए । 

त्यस्तै, पूर्व एमपी क्रिष्ट रुन, बुद्धिष्ट च्याप्लेन ब्रिटिश आर्म फोर्सेजका डा.सुनिल करियाकरवानाले समेत शुभकामना दिएका थिए । 

सो अवसरमा नेपाली राजदूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय नेपाली मूलका काउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायतको उपस्थिति थियो । 

कार्यक्रममा बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष पूर्व डिएसपी बाचस्पति रेग्मी, ग्रेटर रसमुर नेपाली कम्युनिटी कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङ, थकाली समाज यूकेका अध्यक्ष एवं बिसीसी यूकेका ट्रष्टीज बोर्ड मेजर खिम गौचन, मगर संघ यूकेका निवर्तमान अध्यक्ष ले. रि. सुनिल राना, तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ, नेपाली आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) यूके अध्यक्ष गोमा राना लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिलगायत भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो । 


बिसीसी यूके आमा अध्यक्ष उर्मिला गुरुङ लगायतका आमाहरुले मण्डला प्रस्ताव तथा पाहुनाको स्वागत सत्कार, तामाङ सोसाइटी अफ यूकेले चियापान, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले ट्रष्टीजहरुको प्रमाणपत्र वितरणको संयोजन गरेका थिए । 

त्यस्तै, बिसीसी यूके अध्यक्ष धर्म तामाङ र कुन्ख्याप गुरुले बिसीसी यूकेको ट्रष्टीज सदस्यता लिएका ट्रष्टीजहरुलाई प्रमाणपत्र वितरण गरे । 

बिसीसी यूके लण्डन शाखाका पदाधिकारी एवं आमाहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी यूकेका  उपाध्यक्ष हर्क गुरुङले लामो समयदेखि बिसीसी यूकेको प्रोजेक्ट कोर्डिनेटरको भूमिका रहेर संस्थालाई दिएको योगदानलाई कदर गर्दै प्रसंशा पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले धर्म गुरु, भक्तजन, विभिन्न संघसंस्थाबाट आएका अध्यक्ष एवं प्रतिनिधि, भोजनदान, बत्ती र जलपानमा आर्थिक तथा जिन्सी सहयोग गर्ने सहयोगदातालगायत सबै सहभागीलाई धन्यवाद दिएका थिए । 

उनले कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएका बिसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा प्रमुख, सल्लाहकार, ट्रष्टीज, आजीवन सदस्यलगायत सबैलाई धन्यवाद दिए । 

कार्यक्रमको अन्त्यमा बिसीसी यूकेका खेन्पो गुरु कुन्ख्यापले भक्तजनहरुलाई आयुको अभिषेक (वाङ) दिएका थिए ।


बिसीसी यूकेका अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेर्पा एशोसिएशन यूके अध्यक्ष समेत रहेका बिसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्दावा (च्यावा) शेर्पाले स्वागत मन्तब्य दिए ।  

मिडिया सेक्रेटरी एसके गुरुङले मिडिया संयोजन गरेका थिए ।   महासचिव क्याप्टेन देब घलेले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै कार्यक्रम संचालन गरेका थिए । 

बिसीसी यूके बेलायतमा बसोबास गर्ने नेपालीहरुले आफ्नो धर्म, कला, संस्कार तथा संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्दै मानवीय सेवामा आवद्ध हुने र बौद्ध शिक्षा अध्ययन तथा अध्यापन गराउने उद्देश्यका साथ सन् २००७ सालमा स्थापना भएको संस्था हो । 

इण्ल्याण्ड तथा वेल्सको च्यारिटी कमिशनमा समेत दर्ता रहेको यस संस्थाले आफ्नो धर्म र संस्कृतिलाई जोगाउदै थुप्रै च्यारिटीमूलक कार्य गर्दै आएको छ ।

हालसम्म ले. रि. काजी शेर्पा, ले. रि. नारायण प्रसाद गुरुङ बिइएम र नरेश गुरुङले अध्यक्षता गरिसकेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू