बेलायती रक्षामन्त्री र नेपाली राजदूत भेट: गोर्खा वार्ता चांडै अघि बढाइने आश्वासन


लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत र नेपाल सरकारबीच आसन्न वार्ताको प्रक्रिया अब अघि बढ्ने भएको छ।
बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग मंगलबार सम्पन्न भेटका क्रममा बेलायती रक्षामन्त्री बेन वालेसले वार्ता प्रक्रिया चांडै अघि बढाइने विश्वास दिलाएको दूतावासले जनाएको छ ।
गोर्खा वार्तामा नेपाल सरकारको तर्फबाट वार्ता संयोजक तोकिएका राजदूतसंगको छलफलमा मन्त्री वालेसले अब चांडै वार्ताका लागि टिओआर (टर्म्स् अफ रिफरेन्स), बेलायती पक्षको वार्ता टोलीलगायतका कार्य टुंगो लगाइने आश्वासन दिएका छन् । उनले वार्ताका लागि बेलायत सरकारले आन्तरिक तयारीका कामहरु गरिरहेको समेत जानकारी गराएका छन्।
त्यसअवसरमा राजदूत आचार्यले पनि नेपाल सरकारका तर्फबाट भएका तयारीहरुबारे मन्त्री वालेसलाई ‘अपडेट’ गराएका थिए। गोर्खा वार्ता चांडै निष्कर्ष दिलाउने गरी काम अघि बढाउन उनले आग्रह गरेका थिए ।
बेलायती रक्षा मन्त्रालयमा सम्पन्न मन्त्री वालेस र राजदूत आचार्यबीचको भेटवार्तामा बेलायती भेटेरान मिनिस्टर लियो डोचेर्टी र दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायत अधिकारी सहभागी थिए ।
त्यस अवसरमा दुई देशबीचको सैन्य सम्बन्धका विविध पक्षहरुबारे पनि सैहार्दपूर्ण छलफल भएको उपनियोग प्रमुख खनालले जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५