बुधबार, वैशाख १२, २०८१
14:09 | १८:५४

भूतपूर्व गोर्खाहरुलाई संग्रहालय भ्रमण, गोर्खा चौतारोमा ‘रिथ’

नेपाली लिङ्क मे १७, २०२२

गोर्खा चौतारो

लन्डन । इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनले गत शनिबार भूतपूर्व गोर्खाहरुलाई वीनचेष्टरस्थित गोर्खा संग्रहालय अवलोकन गराएको छ ।

एसोसिएसनकै पहलमा निशुल्क प्रवेश व्यवस्था मिलाइएको सो अवलोकन भ्रमणमा झण्डै तीनसय बढी सहभागी थिए ।

प्रवेश शुल्क ५ पाउण्ड भएपनि गोर्खा म्यूजियम ट्रष्टले गोर्खाहरुलाई निशुल्क प्रवेश दिएको थियो । तर, एसोसिएसनले स्वेच्छाले २ पाउण्ड प्रति व्यक्तिका दरले योगदान गरिएको अध्यक्ष कमलबहादुर पूर्जाले बताए ।

भ्रमणका क्रममा गोर्खा म्यूजियम ट्रष्टका निर्देशक डा डि जी बोयरले स्वागत गर्दै गोर्खाहरु बेलायती समुदायको महत्वपूर्ण हिस्सा भएको बताए ।

सो अवसरमा एसोसिएसन अध्यक्ष कमल पूर्जाले ट्रष्टप्रति आभार व्यक्त गर्दै भूतपूर्व गोर्खाहरुलाई फूर्सदको समयमा मनोरन्जनसहित केही 
रचनात्मक गतिविधिमा सहभागी गराउने प्रयत्न गरिएको बताए ।

संग्रहालय भ्रमणका सहभागीले त्यहांभित्र विभिन्न सामग्री देखेर आफ्नो पुर्खाको बलिदान र समर्पण स्मरण गरे ।

भूतपूर्व गोर्खाहरु संग्रहालय भ्रमणपछि सर 
हयारोल्ड हिलियर गार्डेन्स् आएर त्यहां निर्मित गोर्खा चौतारोको २५ औं वार्षिकोत्सवका अवसरमा दिवंगत गोर्खा सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरे ।

धौलागिरी नौमति बाजाको धुनसहित स्थानीय मेयर, संग्रहालय र गार्डेन्स्का निर्देशक, काउन्सिलरहरु लगायत विशिष्ठ व्यक्तित्वहरुले गार्डेन परिक्रमा गर्दै गोर्खा चौतारोमा रिथ चढाएका थिए ।

सो क्रममा ५ जना नेपालीले पनि आफ्नो दिवंगत पितृहरुको सम्मानमा रिथ चढाएर श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रममा २ मिनेट मौनधारण गरिएको थियो ।

श्रद्धान्जली कार्यक्रमपछि अतिथी लगायत अन्य सर्वसाधारण नौमति बाजासहित पुनः गार्डेनमा रहेको मुख्य हलमा आएर औपचारिक कार्यक्रममा सहभागी भएका थिए ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ह्यामसायर काउन्टी काउन्सिल लिडर अल्डरम्यान रोय पेरीले एसोसिएसनको आतिथ्यप्रति आभार व्यक्त गरे ।

उनले बेलायतका लागि गोर्खाहरुको योगदान स्मरण गर्दै आफ्नो क्षेत्रमा नेपालीहरु बढिरहेकामा खुशी व्यक्त गरेका थिए ।

एसोसिएसन अध्यक्ष कमलबहादुर 
पूर्जाले सहभागी र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै यस्तो जमघटले बेलायती र नेपाली समुदायबीच सम्बन्ध थप सुदृढ हुने बताए ।

कार्यक्रममा नेपालबाट आएका झण्डै दर्जन राष्ट्रिय कलाकार सहभागी थिए । उनीहरुले दोहोरीदेखि अन्य विभिन्न गीत गाएर दर्शकलाई मनोरन्जन दिलाए । स्थानीय कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

कोभिड महामारीका कारण लामो समयदेखि जमघट नहुंदा विरक्त भएका गोर्खा वृद्धवृद्धा कार्यक्रममा सहभागी हुन पाउंदा दंग देखिन्थे ।

उक्त गार्डेनमा प्रवेश शुल्क प्रतिव्यक्ति ११ पाउण्ड भएपनि नेपालीलाई २ पाउण्डमा मात्र प्रवेश दिइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू