बुधबार, वैशाख २६, २०८१
00:53 | ०५:३८

डा. शर्मा कोलबर्न टाउन काउन्सिलमा दोश्रोपटक मेयर निर्वाचित

नेपाली लिङ्क मे १६, २०२२

लन्डन । इंग्ल्याण्डको कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । गत ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरुको सोमबार सम्पन्न पहिलो बैठकले डा. शर्मालाई सर्वसम्मत मेयर निर्वाचित गरेको हो ।

उनी उक्त काउन्सिलमा सन् २०१५ देखि २०१६ सम्म उपमेयर र सन् २०१९ देखि २०२० सम्म मेयर थिए । शर्मा सन् २०१२ देखि काउन्सिलर छन् ।

कोलबर्न टाउनका ११ जना काउन्सिलरबाट उनी सर्वसम्मत मेयर चुनिएका हुन् ।

नर्थ योर्कसायर काउन्टी काउन्सिलर ग्रीन पार्टीका केभिन फोस्टरको प्रस्ताव र मेयर पदावधि सकिएर बाहिरिन लागेकी काउन्सिलर एन्जी डेलको समर्थनमा शर्मा मेयर चुनिए ।

यसपटकको निर्वाचनमा फोस्टरले शर्मालाई नर्थ योर्कसायर काउन्टी काउन्सिलर प्रतिष्पर्धामा ८ मतले हराएका थिए । एन्जी रिचमण्डसायर काउन्सिल लिडर पनि हुन् ।

‘साथीहरुले ममाथि जुन विश्वास गरेर जिम्मेवारी सुम्पिएका छन्, यसले थप दायित्ववोध गराएको छ’, शर्माले भने, ‘स्थानीय मतदाताको चाहना बमोजिम सेवा प्रदान गर्न र विकास निर्माणमा अबको कार्यकाल खर्चने छु ।’

बैठकले डेपुटी मेयरमा ग्रीन पार्टीकी कोलिन मिन्चरलाई चुनेको छ ।

शर्मा बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् ।

रोयल आर्मी मेडिकल कोर्पसमा रिजर्भड आर्मी अफिसर समेत रहेका पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् ।

सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए  ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।

रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।

उनी यूके तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा विद्यावारिधि (पिएचडी) विद्यार्थीको वाह्य परीक्षक पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू