शनिबार, वैशाख ८, २०८१
11:07 | १५:५२

एनआरएनए यूकेले ‘एमओयू’ गरेर मात्रै आइसीसीलाई लेवी पठाउने

नेपाली लिङ्क मे १५, २०२२

लन्डन । एनआरएनए यूकेले ‘एमओयू’ गरेर मात्रै सदस्यतावापत संकलित लेवी आइसीसीलाई पठाउने भएको छ ।

गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आइतबार सम्पन्न एघारौं कार्यसमिति (२०२१–२३) को चौथो प्रत्यक्ष बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित एनआरएनए यूकेको आफ्नै कार्यालयमा भएको बैठकमा एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचन सन्दर्भमा पञ्जिकृत सदस्यहरुबाट सदस्यता शुल्कबापत लिइएको रकम नेपालस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाउनेबारे छलफल भएको थियो ।

छलफलपश्चात गत १५ मार्च २०२२ मा बसेको एनआरएनए यूकेको बैठकले निर्णय गरे बमोजिम एनआरएनए यूकेले आइसीसीसंग ‘एमओयू’ गरेर मात्रै सदस्यताबापत संकलित लेवि आइसीसीलाई पठाउने निर्णय गरेको हो ।

उल्लेखित एमओयूबारेमा आइसीसीलाई पटक पटक पत्राचार गर्दा पनि आइसीसीले उक्त पत्रहरुप्रति चासो नदेखाएको भन्दै बैठकले आइसीसीलाई पुनः पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

एनआरएनए यूकेले आफ्नो कार्यालय नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेको अवस्थालाई मध्यनजर गर्दै सो उद्देश्य पुरा गर्न पञ्जिकृत सदस्यहरुबाट गत वर्ष २०२१ सदस्यतावापत संकलित रकम यस पटकका लागि मिनाहा गरिपाउं भनी एनआरएनए आइसीसीलाई एक अनुरोध पत्र पठाउने निर्णय समेत भएको छ ।

एनआरएनए यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बुझाउनुपर्ने ११ हजार ३ सय ६३ जना सदस्यको ५ डलरका दरले ५६ हजार ८ सय १५ डलर अहिलेसम्म नपठाएपछि केन्द्रले ताकेता गर्दै आएको छ ।

बैठकले विभिन्न व्यक्ति वा संस्थाहरुलाई उनीहरुले भुक्तान गर्न बाँकी रहेका इन्भोइस १६ मे २०२२ भित्र भुक्तानी गर्न कोषाध्यक्ष विष्णु खरेललाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले एनआरएनए यूकेको ब्याज र टोकन अफ लभका लागि स्कटल्याण्ड राज्य समितिका अध्यक्ष काशीराम भण्डारीले प्रायोजन गर्ने भनी गरेको प्रतिवद्धता अनरुप कवुल भएको रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै एनआरएनए यूके गोर्खा विभाग सह-संयोजक भीम सारुले आफ्नो प्रतिवद्धता बमोजिम एनआरएनए यूकेको ३०० वटा टाइ अर्डर गरी उपलब्ध समेत भइसकेकाले बैठकले उक्त टाई संकलन गरी कार्यालयसम्म ल्याउने जिम्मा कार्यसमिति सदस्यहरु चम्पा थापा मगर र पदम शाहीलाई दिएको छ ।

एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनसंग आगामी ३ जुन २०२२ मा एक अन्तरकृया गर्ने निर्णय गरेको छ । अन्तरकृया कार्यक्रम संयोजन गर्ने जिम्मा उपाध्यक्ष गोविन्द खरेललाई दिइएको छ ।

एनआरएनए यूकेले गोर्खा कप २०२२ मा हेल्थ क्याम्प (स्वास्थ्य शिविर) गर्ने निर्णय गरेको छ । आगामी जुन ४ मा अल्डरसटमा हुने गोर्खा कप फुटवल प्रतियोगितमा स्वास्थ्य शिविर आयोजना गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी एनआरएनए यूके स्वास्थ्य विभाग संयोजक डा. विशाल गुरुङलाई दिइयो । कार्यक्रम गर्दा लाग्ने प्रक्षेपित खर्च ८१६ पाउण्डमा कमी ल्याउन प्रयत्न गर्ने निर्णय समेत भएको छ ।

एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि रसमुर बरोका काउन्सिल लिडरहरुलाई एनआरएनए यूकेको कार्यालयमै निमन्त्रणा गरी एक विशेष अन्तरकृया तथा परामर्श गर्ने निर्णय बैठकले गरेको छ । सोको संयोजन अध्यक्ष प्रेम गाहा मगर आफैंले गर्ने भएका छन् ।

एनआरएनए यूकेले आगामी अगष्ट ६ मा गर्ने वार्षिक साधारण सभा (काउन्सिल बैठक) को अवसर पारेर ‘एनआरएन भ्वाइस’ को नयाँ अंक प्रकाशन गर्ने निर्णय भएको छ । एनआरएन भ्वाइसको नयां अंक प्रकाशनको संयोजन जिम्मेवारी उपाध्यक्ष रामचन्द्र पोखरेल र सम्पादनको जिम्मेवारी महासचिव खुशी लिम्बू र प्रवक्ता भरतमणी चोङबाङलाई दिइएको छ ।

बैठकले एनआरएनए यूकेको बैंक वेलफेयर अकाउण्ट बन्द भएको र खातामा रहेको करिब २६,००० पाउण्ड पूर्व अध्यक्ष पुनम गुरुङ तथा पूर्व कोषाध्यक्षहरुसंग सम्पर्क गरी उक्त रकमको खोजी गर्ने जिम्मा वर्तमान उपाध्यक्ष नारायण कंडेल र कोषाध्यक्ष विष्णु खरेललाई दिने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता छनौटका लागि नेपालमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुलाई यात्रा खर्च (ट्राभल एक्पेन्स) एनआरएनए यूकेले उपलब्ध गराउने निर्णय भएको छ ।

एनआरएनए यूकेको वेवसाइट र डेटाबेस पोर्टल (सदस्यहरुको व्यक्तिगत विवरण राख्ने प्रणाली) निर्माणका लागि आइटी कोअर्डिनेटर आवेश राईलाई न्यूनतम खर्च उपलब्ध गराउने निर्णय भएको छ ।

अल्डरसट आमा समूहले एनआरएनए यूकेको कार्यालय हरेक सोमबार प्रयोग गर्ने इच्छा जाहेर भएकाले सोही बमोजिम आमा समूहलाई प्रत्येक सोमबार निर्धारित समयसम्मका लागि कार्यालय कोठा प्रयोग गर्न दिने निर्णय भएको छ । जसका लागि कार्यसमितिका सदस्यहरु आफू उपलब्ध रहेको अवस्थामा कार्यालय आएर केयर टेकरको भूमिका खेल्न सक्ने भनी निर्णय भएको छ ।

एनआरएनए कार्यालयमा राजदूतावासको घुम्ती सेवा उपलब्ध गराई पाऊँ भनी नेपाली राजदूतावासलाई पुनः अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गत २४ अप्रिल २०२२ का दिन कोभेण्ट्रीनिवासी रामप्रसाद सुवेदीको असामयिक निधन भएको र उनको आर्थिक अवस्था निकै कमजोर भएको भनी एनआरएनए यूकेलाई निवेदन आएको हुँदा सोही बमोजिम एनआरएनए यूकेले निज मृतकको परिवारलाई ५०० पाउण्ड प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि कोषाध्यक्षलाई सहयोग रकम उपलब्ध गराउन निर्देशन भएको छ ।

एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा राज्य समन्वय परिषदका उम्मेदवारहरुबाट लिएको उम्मेदवारी शुल्क फिर्ता गर्ने सम्बन्धमा गरिएको पूर्व निर्णय अनुसार स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड राज्य समितिलाई शुल्कको ५० प्रतिशत सम्म फिर्ता गर्ने निर्णय भएको छ ।

बैठकले राज्य परिषदहरुलाई प्रत्येक काउण्टी काउन्सिल गठन गरेबापत सम्बन्धित लागतखर्चका लागि सहयोग स्वरुप एनआरएनए यूकेले ३०० पाउण्ड प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले मिडल्याण्डमा हुन गइरहेको ‘गोल्डेन एभरेस्ट क्रिकेट प्रतियोगिता’ एनआरएनए यूकेद्वारा आयोजना गरी एनआरएनए क्रिकेट टुर्नामेण्ट भनी कार्यसमिति सदस्य हिरा सापकोटाले संयोजन गर्ने निर्णय गरेको छ ।

कार्यसमिति सदस्य उपेन्द्र पौडेलेको संयोजकत्वमा मिडल्याण्डमा एनआरएनए मेला आयोजना गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू