शुक्रबार, वैशाख १४, २०८१
12:39 | १७:२४

बुद्धजयन्ती तयारीबारे दूतावासमा अन्तिम छलफल, कस्तो हुँदैछ कार्यक्रम ?

नेपाली लिङ्क मे १४, २०२२

लन्डन। लन्डन ट्राफल्गर स्क्वायरमा यही मे २२ आइतबार आयोजना हुने बुद्धजयन्ती कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। 

आयोजक बुद्ध फाउन्डेसन र लन्डनस्थित नेपाली दूतावासबीच विहीबार सम्पन्न फाइनल तयारी बैठकमा कार्यक्रमको रुपरेखा, सहभागी हुने अतिथिको नामावली, सांस्कृतिक प्रस्तुति लगायतको टुंगो लगाइएको फाउन्डेसन उपाध्यक्ष प्रसुना कंडेलले जानकारी दिएकी छन्।  

त्यस अवसरमा फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ  उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सचिन श्रेष्ठ लगायतले कार्यक्रमको अहिलेसम्मको तयारीबारे दूतावासका अधिकारीहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा बिसीसी यूकेको संयोजनमा स्याल्पा तेन्जिङ रिम्पोचेको सहभागिता रहने पक्का भएको जानकारी गराइएको थियो । त्यस्तै, बेलायतको डरहाम युनिभर्सिटीआबद्ध बौद्ध दर्शन अध्येता डा मार्क म्यानुएल पनि कार्यक्रममा सहभागी हुने भएका छन् ।  

लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यक्रममा विभिन्न देशका बेलायतस्थित राजदूत एवम् कूटनीतिक अधिकारी, बेलायती सांसद, स्थानीय तहका मेयर, काउन्सिलरसहितका जनप्रतिनिधि लगायतको सहभागिता ‘कन्फर्म’ भएको जानकारी गराएकी थिइन् । 

छलफलमा फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सचिन श्रेष्ठ, उपाध्यक्ष प्रसुना कंडेल, महासचिव लक्ष्मी राई ‘लारा’, सदस्यहरु अर्चना गुरुङ र राफी श्रेष्ठको सहभागिता थियो भने दूतावासबाट उपनियोग प्रमुख रोशन खनाल र सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल सहभागी थिए । 

त्यस अवसरमा अपरान्ह तीनदेखि साँझ छ बजेसम्म निर्धारित कार्यक्रममा प्रस्तुत गरिने गतिविधिहरुको सूची पनि टुंगो लगाइएको छ ।

कार्यक्रमको शुरुमा नेपाली पहिरनमा सजिएका पञ्चकन्याले अतिथिको स्वागत गर्नेछन् भने बिसीसी यूकेले पूजासहित बुद्धजयन्ती कार्यक्रम शुभारम्भ गर्नेछ।  

त्यसअवसरमा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक कार्यक्रमदेखि मौलिक धिमे बाजासम्मको प्रस्तुति गरिनेछ ।  

कार्यक्रमस्थलमा नेप्लिज डक्टर्स एशोसिएसन यूके र नर्सिङ एशोसिएसन यूकेसँगको सहकार्यमा ‘इमरजेन्सी फर्स्ट एड डेस्क’ राखिनेछ ।  

बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डन ट्राफल्गर स्क्वायरमा वर्षेनी गर्दै आएको बुद्धजयन्तीको यो पाँचौं कार्यक्रम हो । 

कोभिडका कारण विगत दुई वर्षसम्म रोकिएको कार्यक्रम यसपटक सुचारु हुन लागेको हो। बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाको ऐक्यबद्धता रहने कार्यक्रममा बेलायतभरबाट सयौं नेपाली तथा गैरनेपालीहरुको सहभागिता अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागिताको लागि बेलायतको सिंगो नेपाली समुदायलाई अपिल गर्दै आयोजकले नेपालको मौलिक पहिचान र संस्कृति झल्किने पहिरनमा उपस्थित हुन पनि सबैलाई आग्रह गरेका छन्।

कार्यक्रम आयोजनाको खर्च व्यवस्थापनलाई विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीहरुबाट सहयोग जुटाइरहेको फाउन्डेसनले सहयोग तथा प्रायोजन गर्न ईच्छुक सहयोगदाता एवम् व्यवसायीहरुमा आव्हान गरेको छ।

दिनहुँ संसारभरका हजारौँ मानिसको ओहोरदोहोर हुने ट्राफल्गर स्क्वायरमा आयोजना हुने कार्यक्रममार्फत् विश्व शान्तिका लागि बुद्धको सन्देश प्रचारप्रसार साथै  विश्वमाझ नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य  राखिएको आयोजक बताउंछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू