शुक्रबार, वैशाख ७, २०८१
05:02 | ०९:४७

चलचित्र छायांकनका लागि नेपाली कलाकारहरु धमाधम बेलायतमा

नेपाली लिङ्क मे १४, २०२२

लन्डन । कोभिड महामारी जोखिम कम भएसंगै नेपालबाट कलाकार बेलायत आउने क्रम बढेको छ ।

सांगीतिक कार्यक्रमबाहेक फिल्म सुटिङकै लागि नेपाली कलाकार र प्राविधिक अहिले बेलायत आइपुगेका छन् ।

चलचित्र ‘हनी बनी’ छायांकनका लागि निर्देशक दिवाकर भट्टराई, नायक सलोन बस्नेत, नायिका जसिता गुरुङ, अभिनेता अर्जुन श्रेष्ठ, सूर्यमाला खनाल आदि कलाकार र प्राविधिक बेलायत आएका हुन् ।

चलचित्रको छायांकन सोमबारबाट शुरु गर्ने तयारी छ । ‘लोकेशन, आर्टिष्ट सेलेक्सन र स्थानीय निकायबाट अनुमति लिने काम सबै सकिएर अब सोमबारबाट पूर्ण रुपमा छायांकनमा जानेछौं’, निर्देशक भट्टराईले भने, ‘सेन्ट्रल लन्डन, वीन्डसर, नर्दन आयरल्याण्ड लगायत ५ ठाउं लोकेशन चुनेका छौं । करिब ३५ दिनभित्र चलचित्रको सबै छायांकन बेलायतमै सक्ने लक्ष्य छ ।’

चलचित्रमा बलिउडका उदयीमान मोडल अभिमन्यू तोमारसहित भारतीय र अंग्रेजी कलाकारहरुको समेत अभिनय रहने निर्देशक भट्टराईले बताए ।

डिओपी नेपाल र बांकी प्राविधिक बलिउडबाट लिइएको छ । बेलायतस्थित नेपाली कलाकारहरुको पनि अभिनय रहनेछ ।

‘प्रोजेक्ट खर्चिलो अवश्य छ । तर नेपाली चलचित्र गुणस्तरिय हुनुपर्छ भन्ने मेरो मान्यता हो’, भट्टराईले भने, ‘हामी नेपाली होइन बलिउड फिल्मको लेभलमा बनाउने कोशिस गर्दैछौं । बेलायतमा सिस्टममा काम गर्नुपर्ने भएकाले नीति नियम अनुशरण गर्दा अप्ठेरो महशुस भएको छैन् ।’

गायक तथा डिजे सपनकुमार राई कोभिड महामारीपछि बेलायतमा फेरि नेपाली कलाकारहरुको गतिविधि बढ्न थालेको बताउंछन् । यतिखेर नेपाली संघसंस्थाका कार्यक्रममा गायन प्रस्तुत गर्न झण्डै दर्जन नेपाली कलाकार बेलायतमा छन् ।

चलचित्र ‘हनी बनी’ का निर्देशक दिवाकर भट्टराई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू