बिहीबार, वैशाख १३, २०८१
12:08 | १६:५३

बिसीसी यूके २५६६ औं बुद्ध जयन्ती मनाउने तयारीमा

नेपाली लिङ्क मे १२, २०२२

लव्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं जयन्ती मनाउने भएको छ ।

आउँदो १६ मे सोमबार बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बुद्ध जयन्ती मनाउन लागिएको हो ।

धार्मिक पूजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित आयोजना गर्न लागिएको २५६६ औं बुद्ध जयन्तीमा सहभागी हुन बिसीसी यूकेले सबै भक्तजनहरुमा अनुरोध गरेको छ ।

बुद्ध जयन्तीका दिन विशेष गरी बुद्ध तीर्थस्थल र गुम्बाहरुमा भिक्षु–भिक्षुणी तथा श्रद्धालु भक्तजनहरुले श्रद्धा र भक्तिभाव प्रकट गर्ने गर्छन् ।

यही अवसरमा बिसीसी यूकेले पनि आफ्नो स्थापना कालदेखिनै प्रत्येक वर्ष बुद्ध जयन्ती मनाउंदै आएको छ ।

प्रत्येक वर्ष बुद्ध जयन्ती मनाउने परम्परा सन् २०२० मा कोभिड–१९ का कारण स्थगित भयो भने सन् २०२१ अर्थात् गत वर्ष हिज होलिनेश रब्जम रिन्पोछे र बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको विशेष उपस्थितिमा भर्चुअल मनाइएको थियो ।

यसवर्ष कोभिड–१९ सामान्य हुँदै आएकाले गुम्बा परिसरभित्र विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बिसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ् दावा (च्यावा) शेर्पाले जानकारी दिए ।

उनी इतिहास स्मरण गर्दै भन्छन्, “लुम्बिनीका शाक्य वंशीय राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थले भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन ज्ञान प्राप्त गरेको र वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा महापरिनिर्वाण भएको हो । सिद्धार्थ गौतमको ३ वटा महान शुभकार्य वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले बुद्ध जयन्तीको दिनलाई बुद्धको जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ । प्रत्येक वर्ष बुद्ध जयन्तीको दिन थोरै मात्रै भए पनि बुद्धको शिक्षा र उपदेश अनुसरण गरौं ।”

दुई चरणमा हुन लागेको उक्त बुद्ध जयन्तीको बिहान ८.३० देखि १० बजेसम्म पहिलो चरणमा भर्चुअल (जूम) मार्फत भुटानका श्रद्धेय गुरु झोन्सार खेन्चे रिन्पोछेले बौद्ध धर्म सम्बन्धि प्रवचन दिनेछन् । उक्त प्रवचनमा सहभागी हुन चाहनेहरुले जूममार्फत सहभागी हुन सक्ने बताइएको छ । त्यस्तै, बिसीसी यूकेको फेसबुक पेजबाट समेत फेसबुक लाइभ हुने बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले जानकारी दिए ।

औपचारिक कार्यक्रमकासाथ बिहान १०.३० बजे देखि शुरु हुने उक्त कार्यक्रमको दोस्रो चरणमा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, ब्रिटिश आर्मीका जनरल मोगन, लण्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ, तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, मगर संघ यूके, ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) लगायत नेपाली संघसंस्थाका प्रतिनिधि, स्थानीय काउन्सिलका पदाधिकारी लगायत भक्तजनहरुको विशेष सहभागिता रहने बिसीसी यूकेका महासचिव क्याप्टेन देव घलेले जानकारी दिए ।

त्यस्तै, उक्त कार्यक्रमको दोस्रो चरणमा बिसीसी यूकेका खेन्पो गुरु कुन्ख्यापले बौद्ध धर्मबारे प्रवचन दिनेछन् भने कार्यक्रममा आयू पूजा गर्दै सबै सहभागीहरुलाई आयूको अभिषेक (वाङ) दिइनेछ ।

उक्त पूजामा बिसीसी यूकेका लोपेन नर्बुलगायत लामा, कार्यसमिति पदाधिकारी, आमा समूह लगायतको विशेष सहयोग रहने महासचिव क्याप्टेन देब घलेले आशा व्यक्त गरे ।

उक्त दिन निःशुल्क चियापान र भोजन समेत गरिएको र सो कार्यक्रमका लागि चिया पानी, दीप प्रज्ज्वल र भोजन दान गर्न इच्छुकहरुले बिसीसी यूकेमा सम्पर्क गर्न समेत उपाध्यक्ष एवं कार्यक्रम संयोजन आङ्ग दावा शेर्पाले अनुरोध गरेका छन् ।

बिसीसी यूके बेलायतमा बसोबास गर्ने नेपालीहरु आफ्नो धर्म, कला, संस्कार तथा संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्दै मानवीय सेवामा आवद्ध हुने र बौद्ध शिक्षा अध्ययन तथा अध्यापन गराउने उद्देश्यका साथ सन् २००७ सालमा स्थापना भएको संस्था हो ।

इंग्ल्याण्ड तथा वेल्स्को च्यारिटी कमिसनमा समेत दर्ता रहेको उक्त संस्थाले आफ्नो धर्म र संस्कृतिलाई जोगाउंदै थुप्रै च्यारिटीमूलक कार्य गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू