शुक्रबार, वैशाख १४, २०८१
19:14 | २३:५९

किराया नेपाल अध्यक्ष दिवस राईको अभिव्यक्तिको बेलायतबाट खन्डन

नेपाली लिङ्क मे १०, २०२२

लन्डन । किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राईको अभिव्यक्तिप्रति किराया बेलायतले आपत्ति प्रकट गरेको छ ।

पछिल्लो समय किराया बेलायतमा देखिएको विवाद समाधान नगरी उल्टै विवादलाई प्रोत्साहित गर्ने गरी अध्यक्ष राईले विभिन्न मिडियामार्फत् भिडियो सन्देश जारी गरेकोमा संस्थाले भत्र्सना गरेको छ ।

किराया बेलायतका अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले एक वक्तव्य जारी गर्दै अध्यक्ष दिवस राईले किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थालाई पूर्ण बेवास्ता गरेको आरोप लगाएका छन् ।

यही मे १६ का दिन किरात राई हाउस ग्याम्बल्स लेन, वकिङमा हुने भनिएको चुलाको पूजा विवादित भएकाले उक्त कार्यमा संलग्न हुन बेलायत आउने भन्ने अध्यक्ष राईको सन्देश खन्डनयोग्य रहेको वक्तव्यमा उल्लेख छ ।

‘बेलायतबासी किरात राईहरुको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत आन्तरिक द्वन्द्वमा फंसिरहेको अवस्थामा अपेक्षित सकरात्मक पहल तथा सन्तुलित अभिभावकत्व प्रदान गर्नुको सट्टा एकपक्षीय ढंगले पटक–पटक प्रहार गरी अन्तमा संस्थालाई सम्बन्ध विच्छेदको अवस्थामा पुरयाउने अध्यक्ष दिवस राईबाट पुनः यस प्रकारको प्रायोजित अभिव्यक्ति आउनु कुनै अनौठौ घटना नभए पनि यो संगठित प्रचारको खण्डन गर्न बाध्य भएका छौं’ वक्तव्यमा भनिएको छ ।

पूरा वक्तव्यः

मिति ३ मे २०२२ का दिन यूटयूब (सिलिचुङ अनलाइन टिभी) मा अपलोड गरी विभिन्न सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको किरात राई यायोक्खा नेपालको केन्द्रीय अध्यक्ष श्री दिवस राईज्यूको भिडियो सन्देशले किरात राई यायोक्खा बेलायतको गम्भिर ध्यानाकर्षण गराएको छ । उक्त भिडियो सन्देशमा अध्यक्ष दिवस राईज्यूले जानीजानी किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थालाई पूर्ण बेवास्ता तथा अन्देखा गर्नु भएको छ । आफू बेलायत भ्रमणमा आउन लागेको सन्देश दिन सार्वजनिक गरिएको उक्त भिडियो सन्देशमा उहांले आउदो १६ मे २०२२ का दिन किरात राई हाउस ग्याम्बल्स लेन (वकिङ, इङ्गल्याण्ड) मा अवस्थित विवादित चुलाको पूजालाई आफ्नो भ्रमणकै उल्लेखनीय घटनाका रुपमा ‘हाइलाइट’ गर्नु भएको छ ।

बेलायतबासी किरात राईहरुको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत आन्तरिक द्वन्द्वमा फसिरहेको अवस्थामा अपेक्षित सकरात्मक पहल तथा सन्तुलित अभिभावकत्व प्रदान गर्नुको सट्टा एकपक्षीय ढंगले पटक–पटक प्रहार गरी अन्तमा संस्थालाई सम्बन्ध विच्छेदको अवस्थामा पुरयाउने अध्यक्ष दिवस राईबाट पुनः यस प्रकारको प्रायोजित अभिब्यक्ति आउनु कुनै अनौठौ घटना नभए पनि यो संगठित प्रचारको खण्डन गर्न वाध्य भएका छौं । बेलायतवासी किरात राईहरुबीच आपसमा घृणा र उत्तेजना फैलाउने, टकराव निम्त्याउंदै विभाजनलाई गहिरयाउने साथै किरात राई यायोक्खा बेलायतको मिति २१ मे २०२२ मा आयोजित साकेला उभौलीलाई समेत प्रभावित तुल्याउने गरी आएको अध्यक्षको यस गैर जिम्मेवार अभिव्यक्तिको जतिनै भत्र्सना गरे पनि कम हुन्छ ।

नेपालका भूमिसन्तान किरात राईहरु विभिन्न सिलसिला (गोर्खा भर्ती, रोजगार, शैक्षिक डिग्री आदि) मा बेलायत आएर स्थायी रुपले बसोबास गर्न प्रारम्भ गरेसँगै संगठित हुने क्रम सुरु भएको थियो ।

यसै क्रममा सन २००४ मा बेलायतवासी किरात राईहरुको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको स्थापना भएको थियो । यही संस्था र नेतृत्वको उत्प्रेरक भूमिका, पहल तथा अगुवाइमा किरात राई हाउस ग्याम्बल्स लेनको जमिन सन् २०१४ मा किन्न सफल भयो । संस्थाले ठूलो आयोजनाको सफल कार्यान्वयन गर्दै आर्थिक उन्नति समेत गर्दै गएपछि नेतृत्वमा दावीसहित प्रतिष्पर्धा बढ्नु अस्वभाविक होइन । यो संगठनको सामान्य प्रक्रियानै हो । नेतृत्वका लागि भएको प्रतिष्पर्धाले केहीमा सामान्य असन्तुष्टि बाहेक संगठनलाई अझ सशक्त र सुदृढ पार्न सहयोग पुगिरहेकै थियो ।

किरात राई जातिभित्र मौलिक विशिष्टता छ । एउटै जातिय पहिचान भएको किरात राई जातिको एउटै साझा भाषा छैन् । यस जातिमा अहिले पनि २५ भन्दा बढि भाषा जिवित तथा बोलचालमा रहेका छन् । यी सबै भाषा तथा भाषिक (थरी) समुदायको सन्तुलित विकास तथा उत्थान गर्नु साझा प्रतिनिधिमूलक संस्थाको मूल उद्देश्य हो । संगठन यो उद्देश्यतर्फ अघि बढ्नु, किरात राई हाउस ग्याम्बल्स लेनमा पूर्वाधारहरुको विकास गर्नु, परिपक्व विचार, नीति तथा कार्यक्रम निर्माण गर्दै त्यसमा आम सहमति निर्माण गर्न अगावै किराया बेलायतमा आवद्घ एक भाषिक संस्थाको अनुरोधलाई अस्वीकार गर्न सकिएन । स्टोर प्रयोजनको लागि स्थान माग गरिएको र किराया बेलायत कार्यसमितिले त्यसलाई स्वीकृति प्रदान गरेकोमा संलग्न केही ब्यक्तिको इतिहास बनाउने, कीर्ति फैलाउदै अमर हुने महत्वकांक्षाको कारण दिइएको निर्देशनको पालना नगरी अतिरिक्त क्षेत्रफल ओगट्दै विधिवत चुला गाडेपछि उत्पन्न विवाद संस्थाले समाधान दिइसकेपछि पनि यसको संवेदनशीलतालाई ख्याल नगरी पछिल्लो नेतृत्वले आफ्नो अनुकूलतामा ब्यूउताउने काम भएपछि विवादले ब्यापकता पाएको हो । अहिले पनि केही असहिष्णु अतिवादीहरु यसलाई सम्बन्धित भाषिकको भावनासँग जोडेर आफ्नै जाति भित्रको धर्मयुद्घमा परिणत गर्न उद्दत छन् भने केही दलाल स्वार्थीहरु यसलाई हतियार बनाउदै आफ्नो स्वार्थमा प्रयोग गर्न तल्लिन छन् । हामीले पटक–पटक विवादको मूल कारण बनेको चूलाको सम्मानजनक ब्यवस्थापन गरौं भनेका छौं भने सम्बन्धित भाषिक समुदायको आस्था र विश्वासमाथि उच्च सम्मान प्रकट गर्दै आएका छौं ।

किरात राई जातिको प्रत्येक घरमा चुला अनिवार्य हुन्छ । जहाँ जन्म देखि मृत्यु सम्मको सबै मुन्दुमी संस्कार सम्पन्न गरिन्छ । तसर्थ चुला हाम्रो आस्था, विश्वास अनि धर्म हो । संस्थाले सामूहिक चुलाको परिकल्पना नगरेको होइन् । तर थुप्रै ब्यवहारिक कठिनाइहरु आइपर्ने कारणले आम सहमति निर्माण हुन सकिरहेको थिएन । संग्रहालय प्रयोजनका लागि भने सामूहिक चुला निर्माण गर्ने संस्थाको योजना यद्यपि कायमै छ ।

हाल आएर सोही अवैधानिक र विवादित चुलालाई सामूहिक चुला भन्दै संगठित प्रचार गरिदै आएको पाइन्छ । हामीले यसलाई सांस्कृतिक वर्चस्वको संज्ञा दिदै आफ्नै भित्रको विविधतालाई सम्मान गर्न अनुरोध गर्दै आएका छौं भने संस्थाले यस चुलाको स्वामित्व ग्रहण नगरेको र यसलाई सामूहिक चुलाको मान्यता पनि नदिएको स्पष्ट पार्न चाहन्छौं ।

किरात राई जाति भित्रका सबै भाषिक समुदायहरु भाषा, संस्कार र सांस्कृतिक रुपले आत्मनिर्भर छौं । एउटै जातिको संस्था भित्र भइरहेको विभेद अनि विभेदलाई संस्थागत गर्ने उद्देश्यले उच्च प्राथमिकताका साथ कथित सामूहिक चुला पूजामा सहभागी हुने गरी किराया नेपालका अध्यक्ष दिवस राईको मिति १६ मे २०२२ को किरात राई हाउस ग्याम्बल्स लेन भ्रमण असफल पार्न सबै प्रकृतिको विरोधमा सामेल हुन साथै आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन बेलायतवासी सम्पूर्ण वहुभाषिक किरात राईहरुमा हार्दिक अपील गर्दछौं ।

चन्द्रवती राई                                         चन्द्र बहादुर राई

महासचिव                                            अध्यक्ष, किराया बेलायत 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू