शुक्रबार, वैशाख १४, २०८१
12:17 | १७:०२

बेलायतको स्थानीय निर्वाचनमा सत्तारुढलाई झट्का, नेपाली पनि प्रभावित

नेपाली लिङ्क मे ८, २०२२

प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायतको बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ दल कन्जरभेटिभले ठूलो झट्का बेहोरेको छ । निर्वाचन नतिजासंगै आफ्नो नेतृत्वमा थप प्रश्न उठेपछि प्रधानमन्त्री बोरिस जोन्सनले 
नराम्रो पराजय स्वीकारेका छन् । आम निर्वाचन हुन दुई वर्ष बांकी रहंदा आएको यो नतिजाले 
कन्जरभेटिभको भविष्यमै चुनौति थपिएको छ ।
प्रतिपक्ष दल लेबरका नेता केर स्टार्मरले चुनावी परिणामबारे प्रतिक्रिया दिँदै आफ्नो दलले आगामी संसदीय चुनाव जित्ने बाटोमा लागिसकेको जनाएका छन् । बेलायतमा सन् २०२४ को मेमा संसदीय चुनाव हुनेछ ।
सन् २०१९ मा सम्पन्न आमनिर्वाचनबाट प्रधानमन्त्री जोन्सन सत्तामा आएपछि बेलायती मतदाताले पहिलोपटक बोरिस प्रशासनबारे आफ्नो असन्तुष्टि जाहेर गरे ।
पार्टीगेट काण्ड (कोभिड महामारीका बेला आफैंबाट नियम उल्लंघन र जरिवाना), ३० वर्षयताकै उच्च मुद्रास्फिति, १० प्रतिशत नेशनल इन्सुरेन्स वृद्धि, युक्रेन रुस युद्धमा सरकारको कदम आदि मुद्दाका कारण यो निर्वाचनमा सत्तारुढ दलले नराम्रो पराजय भोगेको विश्लेषकहरु बताउंछन् ।
नर्थ योर्कसायर काउन्टी काउन्सिलमा पराजय भोगेका कन्जरभेटिभका डा. जगन्नाथ शर्मा भन्छन्, ‘मेरो चुनावी अभियानमा अर्थमन्त्री ऋषि सुनाक संगै हिंड्नुभयो । घरदैलो गर्दा मतदाताहरु बोरिस सरकारले राम्रो गरेन खोइ के मत दिने भन्ने गुनासो मात्रै गर्थे । आखिर परिणाम यस्तो आयो ।’
बीबीसीका अनुसार कन्जरभेटिभले झण्डै ५ सय सिट र ११ वटा प्रमुख काउन्सिलहरुमा आफ्नो नियन्त्रण गुमाएको छ । दक्षिणी इंग्ल्याण्डमा लिबरल डेमोक्रयाट्स र लन्डन काउन्सिलहरुमा लेबरले जित सुनिश्चित गरे ।
बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई मन परेको वान्ड्सवर्थ, वेष्टमिनिष्टर र बार्नेट काउन्सिल लेबरले जितेको छ । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट रहेको बरो वेष्टमिनिष्टर टोरीले सन् १९६४ देखि जित्दै आएको थियो ।
बेलायतको संसदीय निर्वाचनमा लेबर उम्मेदवार डा. बच्चुकैलाश कैनी बेलायतका जनताले कुन राजनीतिक दलले कस्तो काम गर्दैछन् वा गरे त्यसको मूल्यांकनका आधारमा मत दिने बताउंछन् ।
‘सन् २०१९ को आमनिर्वाचन जितेर सरकार बनाएको कन्जरभेटिभ नेतृत्वमा अहिलेसम्म बेलायतको अर्थतन्त्र सुधार हुन सकेको छैन् । मूल्यवृद्धि बढेको छ, अर्थतन्त्रले खासै गति लिन नसकेका कारण आम नागरिकको दैनिकीमा सकारात्मक प्रभाव 
पार्ने खासै काम हुन सकेन्’, डा. कैनी भन्छन्, ‘यसबाहेक बोरिसको व्यक्तिगत र राजनीतिक छवी राम्रो हुन सकेन । उनी धेरै कुराले विवादित छन् । फलस्वरूप कन्जरभेटिभले यो निर्वाचनमा आशा गरे अनुरुप नतिजा हात पार्न सकेन ।’
यो पटक इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० बढी उम्मेदवार चुनावी मैदानमा थिए । लन्डनका सबै ३२ बरोसहित प्रमुख शहरहरु लिड्स, म्यानचेष्टर, बर्मिङहम आदिमा निर्वाचन भएको हो ।
साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर र एकहजार पेरिस काउन्सिलहरुले करिब १० हजार काउन्सिलर निर्वाचित गरेका बताइएको छ ।
वेल्समा २२ लोकल काउन्सिलका सबै सिट र स्कटल्याण्डमा ३२ काउन्सिलका लागि मतदान भएको थियो ।
नर्दन आयरल्याण्डमा २७ सिटसहित पहिलो पटक नेशनलिस्ट पार्टी सिन फेन ठुलो पार्टी बनेको छ । त्यहां नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयां सदस्य चुनिएको हो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू