आइतबार, जेठ ६, २०८१
16:37 | २१:२२

बेलायतमा स्थानीय निर्वाचन शुरु, नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा

नेपाली लिङ्क मे ५, २०२२

लन्डन-बेलायतमा आज बिहान ७ बजेदेखि स्थानीय निर्वाचन शुरु भएको छ । मतदान राती १० बजेसम्म सुचारु हुनेछ । 

इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नेछन् भने नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयां सदस्य चुनिने छन् । 

इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सिलर चुनावी मैदानमा छन् । 

लन्डनका सबै ३२ बरोसहित प्रमुख शहरहरु लिड्स, म्यानचेष्टर, बर्मिङहम आदिमा निर्वाचन भइरहेको छ । लण्डनमा मात्र १८०० बढी सिटका लागि मतदान हुँदैछ ।  

साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर चुन्नेछन् भने एकहजार पेरिस काउन्सिलहरुले करिब १० हजार काउन्सिलर निर्वाचित गर्नेछन् । 

वेल्समा २२ लोकल काउन्सिलका १२३४ नयाँ काउन्सिलहरु चुनिदै छन् भने स्कटल्याण्डमा ३२ काउन्सिलमा १२२७ सिटका लागि मतदान जारी छ । 

सन् २०१९ मा सम्पन्न आमनिर्वाचनबाट प्रधानमन्त्री बोरिस जोन्सन सत्तामा आएपछि बेलायती मतदाताले पहिलोपटक बोरिस प्रशासनबारे आफ्नो मत जाहेर गर्दैछन् । पार्टीगेट काण्ड, कोभिड महामारी सामना, चर्को मूल्यवृद्धि, युक्रेन रुस युद्धमा सरकारको रेस्पोन्स आदि मुद्दाका कारण यो निर्वाचनमा सत्तारुढ दलले कस्तो नतिजा ल्याउने हो सर्वत्र आमचासो छ ।

बेलायतका स्थानीय काउन्सिलहरु सार्वजनिक सेवा जस्तै सार्वजनिक यातायात, विद्यालय, पुस्तकालय, पार्क, सडक मर्मतसम्भार आदिका लागि जिम्मेवार हुन्छन् । त्यसकारण पनि उल्लेखित सेवा जसले प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छ, मतदाताले ति उम्मेदवारलाई जिताउंछन् । 

यो निर्वाचनले प्रमुख राजनीतिक दलहरुको परफर्मेन्स ‘ग्रासरुट’ तहमा कस्तो रह्यो भन्ने चित्र पनि प्रस्तुत गर्दछ ।  

नेपालीमूलका उम्मेदवारहरु

यसपटक स्थानीय निर्वाचनमा झण्डै दर्जन नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा छन् । 

यहां भोट हुने दिनसम्म पनि मत माग्न पाइन्छ तर नेपाल जस्तो न यहां आमसभा हुन्छन्, न ब्यानर, ध्वजा पतका टांगिन्छ । न त मत नै किनबेच हुन्छ । 

यहां मतदाताहरुले पोष्टल भोट र प्रोक्सी (अरुलाई भोट दिन अधिकार) दिएर पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता हुन निर्वाचनको १२ दिन अघिसम्म पाइन्छ ।  

उम्मेदवारहरु घर घर गएर लिफलेट्स बांड्दै भोट माग्छन्, सामाजिक सञ्जालतिर हल्का प्रचार प्रसार हुन्छ । चुनाव हुने दिन पनि मतदाता आफ्नो काम सकेर वा जागिर जानुअघि मतदान केन्द्र पुग्छन् । सार्वजनिक विदा नहुने भएकाले मतदान केन्द्र सुनसान लाग्छ । 

नेपाली उम्मेदवारहरुले पनि अन्य जस्तै सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, सुरक्षित सडक, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार आदि प्रतिवद्धता अघि सारेर मत मागिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू