बिहीबार, वैशाख १३, २०८१
11:35 | १६:२०

बेलायतको प्रतिष्ठित क्रिकेट क्लवमा छानिए ९ वर्षीय नेपाली बालक

नेपाली लिङ्क मे २, २०२२

लन्डन । लन्डन बस्ने एक बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लवमा छनोट भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अण्डर टेन (यू १०) बरो प्लेयरमा छनोट भएको उनका बुवा सुरेन्द्र ढुंगानाले जनाए ।

आर्यन ‘लेफ्ट हेण्डेड’ पेस बलर र आक्रामक ब्याट्सम्यान हुन् ।

आर्यन सानैदेखि खेलप्रेमी र क्रिकेटप्रति रुची राख्ने गरेको बुबा बताउंछन् । उनले २० वर्षयता बेलायतको क्रिकेट क्लवमा छानिने आर्यन सम्भवतः पहिलो नेपाली बालक रहेको पनि बताए ।

‘यो आर्यनका लागि सानो खुट्किलो होला तर समस्त बेलायती नेपाली डायस्पोराको खेल क्षेत्रमा ठूलो फड्कोका रुपमा मैले लिएको छु’, बाबुले भने ।

एक्टन क्रिकेट क्लव लन्डनमा आइतबार पूर्व इंग्ल्याण्ड क्रिकेटर साजिद महम्मुद र इलिङ क्रिकेट बरो चिफ इजाज हुसेनले आर्यनलाई मिडलसेक्स काउन्टी क्याप हस्तान्तरण गरे । साजिदले आर्यनको क्याप र ब्याटमा हस्ताक्षर पनि गरेका छन् ।

आर्यनले गत वर्ष अण्डर ८ अन्तर्गत प्रतिष्ठित इलिङ क्रिकेट क्लवमा खेलेर ‘प्लेयर अफ द इयर’ उपाधि पाएका थिए ।

सन् २०१३ मा लन्डनमा जन्मिएका आर्यनका बुबा सुरेन्द्र ढुंगाना चार्टर्ड अकाउन्टेन्ट र आमा सुनिता ढुंगााना इलिङ हस्पिटलमा नर्सको रुपमा कार्यरत छिन् । उनीहरु टिकापुर कैलालीका स्थायी वासिन्दा हुन् ।

आर्यन इलिङस्थित होबबेन प्राइमरी स्कुलमा क्लास ४ मा पढ्दैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू