मंगलबार, जेठ १, २०८१
15:09 | १९:५४

बेलायती अर्थमन्त्री सुनाक नेपाली उम्मेदवार शर्माको चुनावी अभियानमा मत माग्दै

नेपाली लिङ्क अप्रिल ३०, २०२२


लण्डन-यही ५ मे मा हुन गइरहेको काउन्टी काउन्सिल निर्वाचन अन्तर्गत नोर्थ योर्कसायर काउन्टी अन्तर्गत हिप्सवेल एन्ड कोल्बर्न प्रतिनिधित्व गर्दै कन्जरभेटिभ पार्टीबाट उम्मेदार दिएका डा. जगन्नाथ शर्माले आफ्नो निर्वाचन अभियानलाई तीव्रता दिएका छन्  ।

सोही अनुरूप शुक्रबार बेलायती अर्थमन्त्री ऋषि सुनाकले शर्माको निर्वाचन क्षेत्र हिप्सवेल र कोल्बर्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेर मतदातासंग शर्माको लागि भोट अपील गरेका छन् । यसअघि पटकपटक काउन्सिलर र एकपटक मेयरका रुपमा काम गर्दा राम्रो ट्रयाक रेकर्ड बनाएको भन्दै सुनाकले उनी योग्य उम्मेद्वार रहेको बताएका थिए ।

साथै सुनाकले मतदाताको विचार, भावना, स्थानीय समस्याबारे पनि जानकारी लिए । अर्थमन्त्री सुनाक आफैं पनि सोही क्षेत्रको प्रतिनिधित्व गर्छन् । 

चुनावी अभियानमा अर्थमन्त्री सुनाकसहित कन्जरभेटिभ पार्टीको नोर्थ योर्कसायर काउन्टी लिडर कारलेस, काउन्सिलर साम गिब्सन, डा. रेबेका, बील ग्लोभर तथा स्थानीय नेपाली समाज ब्रिटिश गोर्खा एण्ड नेपाली कम्यूनिटीका अध्यक्ष बिनी कुमार गुरुङ, महासचिव रामकृष्ण सुनार, एनआरएन यूके सचिव ज्ञानेन्द्र आले लगायत अन्य नेपालीको उल्लेख्य सहभागिता थियो । 

शर्माको निर्वाचन केवल उनको ब्यक्तिगत जीत मात्र नभएर नेपाल र नेपालीको प्रतिस्ठाको पनि विषय भएकाले स्थानीय नेपाली समुदाय धेरै आशावादी र उत्साहित हुँदै चुनावी प्रसार प्रचार अभियानमा सहभागी भएको स्थानीयवासी तथा एनआरएनए यूके सचिव ज्ञानेन्द्र आलेले बताए । 

शर्मालाई जिताउन स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरु विगत केही हप्ता देखि नियमित रुपमा अभियानमा सहभागी हुँदै आएका छन् ।  

डा. शर्माले सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिवद्धता गरेका छन् ।

रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोल्बर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू