शनिबार, वैशाख १५, २०८१
23:17 | ०४:०२

बेलायतको स्थानीय निर्वाचनमा भिड्दै दर्जनौं नेपाली

नरेन्द्र बस्नेत अप्रिल ३०, २०२२

लन्डन । बेलायतमा यही मे ५ मा स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताहरूले आफ्नो स्थानीय क्षेत्रका लागि प्रतिनिधिहरु चयन गर्नेछन् । आफ्नो इलाकाका मुद्दाहरु कसरी व्यवस्थित गर्ने भन्ने बारेमा निर्णय गर्ने अवसरको रुपमा यस निर्वाचनलाई हेरिन्छ । यस चुनावले प्रधानमन्त्री बोरिस जोन्सनको सरकारले गरेको गतिविधिको मूल्यांकन गर्नेछ ।

लकडाउनका बेला भएका गतिविधि, युक्रेन रुस युद्ध, दैनिक जीवनयापनको बढ्दो संकट जस्ता विषयलाई मूल्यांकन गरेर मतदाताहरुले आफ्नो धारणा व्यक्त गर्ने अनुमान गरिएको छ । इंग्ल्याण्डका १४६  काउन्सिलमा ४ हजार भन्दा बढी काउन्सिलरहरु निर्वाचनमा उठेका छन् ।

काउन्सिलरहरुले स्थानीय क्षेत्रको फोहोरमैला व्यवस्थापन, सडक विस्तार र बस रुट, काउन्सिल ट्याक्स, मानसिक स्वास्थ्य सेवा, जलवायु परिवर्तनसंग जुध्ने उपाय लगायत एजेण्डा बोकेका छन् ।

यसपटकको स्थानीय निर्वाचनमा झण्डै एक दर्जन नेपालीले विभिन्न क्षेत्रबाट काउन्सिलर पदमा उम्मेदवारी दिएका छन् । संसदीय निर्वाचनमा सहभागिता हुन नसकेपनि स्थानीय राजनीतिमा भने कयौं नेपालीहरु आकर्षित भएका छन् । विशेषगरी लेबर पार्टी र कन्जरभेटिभ पार्टीबाट उम्मेद्वारी दिएका नेपालीहरु यतिबेला चुनावी अभियानमा घरदैलोमा व्यस्त छन् ।

विष्णुबहादुर गुरुङ

एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा अनुभव बटुलिसकेका भूतपूर्व गोर्खा मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर उम्मेदवारको प्रतिष्पर्धामा छन् । लन्डन बरो अफ हन्स्लोको ५६ औं मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गतवर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिला मेयर हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उनी काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले करिब दुई दशक बेलायती सेनामा सेवा गरेका छन् ।

सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका गुरुंगले  सन् २०११ बाट बेलायतको लेबर पार्टीको सदस्यता लिएका हुन् ।  गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् ।

डा. जगन्नाथ शर्मा

इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार डा. जगन्नाथ शर्मा मैदानमा छन् । नर्थ योर्कसायरकै कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका हुन् ।

शर्मा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार छनोट भएका हुन् । नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमू लबाट पहिलो हुन् । अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।

रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् । शर्माले आफूलाई अर्थमन्त्री सुनाकले चुनावका लागि प्रचारप्रचारमा सहभागी भएर सहयोग गरेको बताएका छन् ।

पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् । सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए  ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।

लक्ष्य गुरुङ

भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक निर्वाचनमा सहभागी हुदैछन् । उनले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडाका लागि काउन्सिलर पदमा उम्मेद्वारी दिएका हुन् । ब्रिटिश आर्मीमा १८ वर्ष बिताएका उनलाई गोर्खा र नेपाली समुदायले पनि चुनावी अभियानमा साथ दिएका छन् । बेलायतको स्थानीय राजनीतिमा प्रवेश गर्नुअघि उनी एनआरएनए केन्द्र र बेलायती नेपाली समाजमा लामो समयसम्म सक्रिय थिए ।

भीम सारुमगर

पूर्व गोरखा सैनिक भीम सारुमगरले ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेद्वारी दिएका छन् । उनी बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बनेका हुन् । करिब तीन हजार नेपाली जनसंख्या रहेको उक्त क्षेत्रको स्थानीय पार्कमा गोर्खा स्मारक खडा गरिएको छ  ।

रोयल गोरखा इन्जिनियरबाट बेलायती सेनामा प्रवेश गरेका सारुले तीन दशक बेलायती सेनामा बिताएका छन् । ग्रीनवीच विश्वविद्यालयबाट हाइवे इन्जिनियरिङको अध्ययन गरेका सारूले बेलायती सेनाका विभिन्न युनिटमा रहेर उनले २४ वर्ष सेवा गरे । गत सेप्टेम्बरमा क्याप्टेन पदबाट अवकाश पाएपछि अहिले उनी ननिटन टाउनमा ‘सारु इम्ब्रोइडरी लि.’ व्यवसायमा आबद्ध छन् ।

जीत रानाभाट

कारिब डेढ दशक अघि बेलायत आएका जीत रानाभाटले लन्डनको ग्रीनवीच बरोमा काउन्सिलर पदको उम्मेद्वारी दिएका छन् । ग्रीनवीचमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडाको काउन्सिलरका लागि उनी चुनावी क्याम्पेनमा व्यस्त छन् ।

भाषाको आधारमा ग्रीनवीचमा अंग्रेजी पछि नेपाली भाषा दोस्रोमा पर्दछ । उनी विगत ८ वर्षदेखि बेलायतको लेबर पार्टीमा सक्रिय रुपमा आवद्ध छन् । अहिले उनले लेबर पार्टीको प्लमस्टिड वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

त्यस्तै, एरिथ एन्ड थेम्समिड कन्स्टिचुएन्सी लेबर पार्टीमा फन्ड रेइजिङ अफिसर रहेका रानाभाटले यसअघि सोही कमिटीमा दुई कार्यकाल मिनट सेक्रेटरी तथा एक कार्यकाल उपाध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । बेलायतको नेपाली समुदायमा पनि सक्रिय सामाजिक अभियन्ता हुन् रानाभाट ।

एनआरएनए यूकेको निवर्तमान कार्यसमितिमा सचिव रहेका उनी अहिले रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का वर्तमान अध्यक्ष पनि हुन् ।

सुमन पुन
कन्जर्भेटिभ पार्टीका तर्फबाट युवा व्यवसायी तथा समाजसेवी सुमन पुनले रसमोर बरो काउन्सिलको चेरिवुड वार्डका लागि उम्मेद्वारी दिएकी छन् ।

सञ्जय पन्त

लन्डन–वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार छन् ।

वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनले उम्मेदवारी दिएका हुन् ।

कमल गुरुङ

कमल गुरुङ लेबर पार्टीबाट लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्नटओक क्षेत्रमा काउन्सिलर उम्मेदवार छन् । उनी तमु समाज बेलायतको आजीवन सदस्य र सल्लाहकार हुन् । १८ वर्ष भन्दा बढी समय बेलायती सेनामा काम गरेका गुरुङ डेढ दशकदेखि बर्नटओकमा बस्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू