बुधबार, जेठ २, २०८१
20:32 | ०१:१७

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा बीर बलाल निर्विरोध

दुई उम्मेद्वार पछि हटेपछि जुट्यो सहमति अप्रिल २४, २०२२

लन्डन-गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा बीरबहादुर बलाल निर्विरोध भएका छन्।

यसअघि समाजको नेतृत्व दावी गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका अन्य दुई उम्मेद्वार मतिप्रसाद पुन र तारानाथ भण्डारी सहमतिका लागि पछि हटेपछि बलाल सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन्।

अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका तीनै जना उम्मेद्वारहरुसँग आइतबार समाजका अगुवाहरुले अल्डरसटमा संयुक्त छलफल गरी सहमति जुटाएका हुन्।

सहमति निर्माणका लागि वर्तमान अध्यक्ष टोप पल्लीको पहलमा बसेको बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम र राम गलामीका साथै सल्लाहकारहरु बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, रन केसी, राजन श्रेष्ठलगायतको उपस्थिति थियो। 

सहमतिअनुसार निर्वाचन समितिले उम्मेद्वारी फिर्ताका लागि तोकेको अप्रिल २५ तारिख साँझ ५ बजेसम्मको समयभित्र पुन र भण्डारीले उम्मेद्वारी फिर्ता लिनेछन्। सोमबार नै बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

अध्यक्षमा निर्विरोध बलाल समाजको वर्तमान कार्यसमितिका महासचिव हुन् भने उम्मेद्वारीबाट पछि हट्ने पुन र भण्डारी दुवै उपाध्यक्ष छन्।

अध्यक्ष पदमा सहमति जुटेसंगै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित हुने समाजको सिंगो कार्यसमिति नै सर्वसम्मत हुने भएको छ। डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाजमा पनि हरेक पटक सर्वसम्मतिमै नेतृत्व चयन हुँदै आएको छ।

यसअघि तीन उपाध्यक्षको ठाउँमा पनि चार जनाको उम्मेद्वारी परेपनि उनीहरुमध्ये एक बाबुराम भण्डारीले आफ्नो उम्मेद्वारी फिर्ता गरेपछि उपाध्यक्ष समेत निर्विरोध बनेका थिए।  

वर्तमान कार्यसमितिकी सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी र सहकोषाध्यक्ष तारा भट्टराई उपाध्यक्षमा निर्विरोध भएका हुन्।  

अध्यक्ष र उपाध्यक्षबाहेक कार्यसमितिका अन्य सबै पद भने शुरुमै निर्विरोध भएका थिए। जसअनुसार महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध भएका छन्।  सहकोषाध्यक्ष र केही सदस्यमा कुनै उम्मेद्वारी परेको छैन ।  

नयाँ कार्यसमिति निर्वाचन प्रक्रिया मीन दर्लामीको प्रमुख संयोजकत्वमा रन केसी सदस्यसचिव तथा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य रहेको निर्वाचन समितिले गरिरहेको छ।

समाजको सातौँ अधिवेशन आगामी मे १ मा अल्डरसटको प्यालेस हलमा हुँदैछ। सोही अधिवेशनले समाजको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू