शनिबार, वैशाख ८, २०८१
11:39 | १६:२४

बेलायतमा पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग’ घोषणा

नेपाली लिङ्क अप्रिल २३, २०२२

लन्डन । बेलायतमा पहिलोपटक ए स्टार नेपलिज बास्केटवल लिग २०२२ हुने भएको छ ।

नेपाल बास्केटबल यूकेले २४ अप्रिल आइतबारदेखि लिग शुरु गर्ने शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उक्त लिग १४ अगष्ट (१६ हप्ता) सम्म हुनेछ ।

नेपाल बास्केटबल यूकेका सचिव एवं पिआर भुवन लिम्बुले लिगमा ८ नेपाली टिम सहभागी हुने जानकारी दिए ।

उनका भनाइमा लन्डनको फेल्थाम, बेजिङस्टोक, जिलिङहम र आसफोर्ड केन्ट लगायतमा लिग हुनेछन् । विजेतालाई ट्रफी, शिल्ड र नगद पुरस्कार दिइने आयोजकको भनाइ छ ।

बेलायतको नेपाली समुदायमा सन् २००७ देखि बास्केटबल प्रतियोगिता हुने गरेपनि लिग खेलाउन लागिएको यो पहिलो हो ।

‘बेलायतको व्यस्त समयमा लामो अवधिसम्म खेल खेलाउन चुनौति र खर्चिलो पनि छ तर हामीले व्यवस्थित र व्यवसायिक रुपमा सञ्चालन गर्ने जमर्को गरेका छौं’, लिम्बुले भने । यसपटक महिला खेलाडीलाई प्रतिष्पर्धामा सहभागी गराउन सम्भव नभएपनि मैत्रीपूर्ण खेल भने खेलाइने उनले बताए ।

लिगलाई वित्तिय संस्था ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई प्लेटफर्म सृजना गरि बास्केटबलमार्फत उनीहरुलाई कुलतमा लाग्न रोक्ने आयोजकको उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए ।

दर्लामीले युवा खेलाडीको प्रोत्साहनका लागि ए स्टारले विगत देखि नै सहयोग गर्दै आएको स्मरण पनि गरे ।

कार्यक्रममा लन्डन बरो अफ हाउन्स्लो मेयर विष्णु गुरुङले शुभकामना दिंदै बेलायतमा नेपालीको पुरानो र नयां पुस्ता जोड्ने गतिविधि गर्न सुझाए दिए ।

मेयर गुरुङले काउन्सिल, प्रहरी र अन्य निजी संस्थाबाट समेत खेल गतिविधिका लागि आर्थिक सहयोग मिल्ने भएकाले युवा लक्षित कार्यक्रम गर्न पनि सुझाए ।

बास्केटबल व्यवस्थित बनाउन संस्था गठन

बेलायतको नेपाली समुदायबीच बास्केटबल खेल व्यवस्थित र थप व्यवसायिक बनाउन युवाहरुले हालै संस्था पनि गठन गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल बास्केटबल यूके अध्यक्ष रुपक गुरुङले नेपाल र बेलायतका खेलाडीबीच सम्बन्ध विस्तार, दुई देशमा विभिन्न इभेन्ट र प्रशिक्षण तथा लिग एवं टुर्नामेन्टलाई नियमित गरिने जनाए ।

संस्थाले दीर्घकालिन लक्ष्यमा बास्केटबल इंग्ल्याण्डसंग आवद्धता, बेलायतबाट नेपाल प्रतियोगितामा सहभागिता र नेपालका खेलाडीलाई बेलायतमा अवसर एवं कोचिङ प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, नेपाल बास्केटबल यूके पदाधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू