शनिबार, जेठ ५, २०८१
13:00 | १७:४५

डब्ल्युएचओ महानिर्देशकको राष्ट्रपति र प्रधानमन्त्रीसंग शिष्टाचार भेट

रासस अप्रिल २२, २०२२

राष्ट्रपति विद्यादेवी भण्डरीसँग विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस शुक्रबार राष्ट्रपछि कार्यालय शीतल निवासमा शिष्टाचार भेटघाट गर्दै । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानकाबारेमा जानकारी गराएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए ।

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको ढकालले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुरसँग डा टेड्रोस

प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गरे ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।

डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन् । उनी यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू