शनिबार, असोज ५, २०८१
02:29 | ०७:१४

युद्धपीडित युक्रेनीलाई बेलायतका नेपालीको आर्थिक सहयोग

७,६९४.३२ पाउण्ड डिजास्टर इमर्जेन्सी कमिटी च्यारिटीमा

नेपाली लिङ्क अप्रिल २१, २०२२

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूके र कोडेक यूकेले संयुक्त रुपमा नेपाली नयाँ वर्षको कार्यक्रम गरि युद्धपीडित युक्रेनीलाई आर्थिक सहयोग जुटाएका छन् ।

गत आइतबार, १० अप्रिलका दिन लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा लन्डनका दुबै च्यारिटीमूलक सामाजिक संस्थाहरूले उल्लासमय वातावरणमा नेपाली नयाँ वर्ष मनाइ सहयोग संकलन गरेका हुन् ।

एनबीसी यूके संयोजक राजेन्द्र ओझाका अनुसार युक्रेनियन डोनेसन अपिलमार्फत ६,७८७.६५ पाउण्ड संकलन भएकामा खर्च २,९४०.४९ पाउण्ड कटाएर ३,८४७.१६ पाउण्ड वचत भएको छ ।

बेलायत सरकारले वचत बराबरकै रकम थप गरि जम्मा ७,६९४.३२ पाउण्ड ‘डिजास्टर इमर्जेन्सी कमिटी युक्रेन अपिल’ च्यारिटीमा जाने र युद्धपीडित युक्रेनीले सिधै पाउने कोडेक यूकेका अध्यक्ष अरुण चालिसेले जानकारी दिए ।

कोभिड–१९ लाई ध्यानमा राखी अनलाइनबाट टिकट काटिएकाले पूरा रकम बल्ल एक हप्ता पछि टिकट टेलरबाट आएको जानकारी एनबीसी यूके तथा कोडेक यूके कोषाध्यक्षद्वय खेमराज जोशी र ज्योति घिमिरे वाग्लेले दिएका छन् ।

पहिलो शत्रको कार्यक्रममा युक्रेनी युद्धपीडितका लागि चन्दा संकलन गरिएको थियो । दोश्रो सत्रमा नाचगान, शुभकामना आदानप्रदान अनि डिजे डान्स गरि कार्यक्रम समापन गरिएको थियो ।

पहिलो सत्रको कार्यक्रम एनबीसी यूके सचिव 
रविन्द्र अधिकारीले शुभकामना मन्तव्य दिंदै शुरु गरेपछि बांकी कार्यक्रम एनबीसी यूके कार्यसमिति सदस्य समीरनाथ प्याकुरेलले सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्षद्वय राजेन्द्र ओझा र अरुण चालिसेले पानसमा बत्ती बालेर उद्घाटन गरेको उक्त कार्यक्रममा करिव तीन सय जनाको सहभागिता थियो ।

कार्यक्रमको शुरुमा युद्धपीडित र दिवंगत भएकाको सम्झनामा एक मिनेट मौनधारण गरि नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।

शुभकामना मन्तव्यका सिलसिलामा एनबीसी यूके संयोजक राजेन्द्र ओझाले कोभिड महामारीका कारण ३ वर्ष पछि मनाइंदै गरेको नेपाली नयां वर्षले नयां आयाम र उत्साह थपेको बताए ।

उनले तडकभडक पार्टीको बजेट कटौती गरेर डिनर मात्रै गरि कार्यक्रम च्यारिटीमा परिणत गरिएको पनि बताए । उनले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कोडेक यूके अध्यक्ष अरुण चालिसेले सम्पूर्ण आगन्तुक, प्रायोजक, कलाकार एवं पूरै कार्यसमितिलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा बालबालिकाहरु निवोध रेग्मी, समिस्री प्याकुरेल, ताज ओझा, शशांक घिमिरेका साथै ओस्कार ओझाले युक्रेन युद्धपीडितप्रति सहानुभूति राख्दै कविता सुनाए ।

सो कार्यक्रममा लन्डन वरपरका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, एनबीसी यूके तथा कोडेक यूकेका भूतपूर्व अध्यक्षहरु, वर्तमान कार्यसमिति सदस्यहरु, दर्जनौं प्रायोजक, कलाकार साथै बीबीसी नेपालीका पूर्व पत्रकार सुमन खरेल, मिडियाकर्मी तथा थुप्रै सदस्य सहभागी थिए ।

कार्यक्रममा अनलाइन टिकेट स्क्यानिङ, रजिष्ट्रेशनका साथै हलको लवीमा फेस पेन्टिङमा प्रतिमा दाहाल, ज्योति घिमिरे, प्रतिक दाहाल तथा आँचल रेग्मी खटिएका थिए भने हल र कार्यक्रम व्यवस्थापनमा चुरामणी रेग्मी, रविन्द्र अधिकारी, खेमराज जोशी, कुलप्रसाद सिग्देल, अन्जु सिग्देल र वसन्त नेपालको योगदान थियो ।

दोश्रो सत्रको कार्यक्रम रश्मी भट्टराईले सञ्चालन गरेकी थिइन् जसमा कलाकारहरु राम र शर्मिला सिंहको प्रस्तुति साथै नाचगान एवं डिजे समावेश थियो ।

सो अवसरमा नेपालबाट आएका वृद्ध घनश्याम रेग्मी र शुष्मा बस्याल बस्ताकोटीले कविता वाचन गरे । बिंगोको रोमाञ्चक प्रस्तुतिले पनि कार्यक्रममा रौनकता थपेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू