सोमबार, वैशाख १७, २०८१
02:19 | ०७:०४

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता

अध्यक्ष र उपाध्यक्षबाहेक सबै पद निर्विरोध

नेपाली लिङ्क अप्रिल १९, २०२२

अध्यक्ष उम्मेद्वारत्रय बांयाबाट बीरबहादुर बलाल, मतिप्रसाद पुन र तारानाथ भण्डारी

लन्डन। बेलायतकै अग्रणी सामाजिक संस्था मानिने गुल्मी जिल्ला समाज यूकेको नेतृत्वका लागि तीन जनाको उम्मेद्वारी परेको छ।

आगामी मे १ तारिख हुने अधिवेशनले निर्वाचित गर्ने नयाँ कार्यसमितिको अध्यक्ष पदमा बीरबहादुर बलाल, मतिप्रसाद पुन र तारानाथ भण्डारीको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा उम्मेद्वारी दिनेमध्ये बलाल वर्तमान कार्यसमितिका महासचिव हुन् भने पुन र भण्डारी दुवै उपाध्यक्ष छन् ।  

त्यस्तै, नयाँ कार्यसमितिको ३ उपाध्यक्षमा चार जनाको उम्मेद्वारी परेको छ । वर्तमान कार्यसमितिकी सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराई र सदस्य बाबुराम भण्डारीले उपाध्यक्षको उम्मेद्वारी दिएका हुन् ।  

अध्यक्ष र उपाध्यक्षबाहेक कार्यसमितिका अन्य सबै पद भने निर्विरोध भएका छन् । जसअनुसार महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध भएका छन् । सहकोषाध्यक्ष र केही सदस्यमा कुनै उम्मेद्वारी परेको छैन ।  

निर्वाचन समितिका प्रमुख संयोजक मीन दर्लामीका अनुसार प्रकाशित उम्मेद्वारहरुको नामावलीमाथि दाबीविरोधका लागि २० अप्रिल बेलुका ९ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको पहिलो नामावली अप्रिल २४ बेलुका ९ बजे प्रकाशन गरिनेछ । 

त्यस्तै, उम्मेद्वारी फिर्ताका लागि अप्रिल २५ तारिख साँझ ५ बजेसम्म समय छ भने सोही दिन बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाजमा यसअघि हरेक पटक सर्वसम्मतिमै नेतृत्व चयन हुँदै आएको छ । यसपटक पनि अन्तिम समयसम्म सहमति जुटाएर सर्वसम्मत कार्यसमिति निर्वाचित हुने सम्भावना नै बलियो ठानिएको छ । संस्थालाई यसअघि ओमप्रसाद थापा, अर्जुन गौतम र राम गलामीले नेतृत्व गरिसकेका छन् भने वर्तमान कार्यसमिति अध्यक्ष टोप पल्ली हुन् ।  

नयाँ कार्यसमिति निर्वाचनका लागि मीन दर्लामीको प्रमुख संयोजकत्वमा गठित निर्वाचन समितिमा रण केसी सदस्यसचिव तथा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू