सोमबार, वैशाख १७, २०८१
01:00 | ०५:४५

बेलायतका नेपालीले दौडेर मनाए नयां वर्ष, ‘पीपल नेपाल रन’ मा १ सय ७० जना सहभागी

वयस्क र बालबालिका एकैसाथ दौडमा

नेपाली लिङ्क अप्रिल १७, २०२२

लन्डन । बेलायतस्थित नेपाली समुदाय आइतबार ५ के र २ के पीपल नेपाल रन २०२२ मा सहभागी भएको छ ।

इष्टर होलिडेमा प्राय घुम्ने, खाने पिउने प्रचलन भन्दा केही फरक क्रियाकलापमा नेपाली समुदायले समय व्यतित गरेको हो ।

नेपाल रन अर्गले दि वार मेमोरियल पार्क बेजिङस्टोकमा आयोजना गरेको उक्त दौडमा एकसय ७० जना सहभागी भएका दौड संयोजक एनआरएनए यूके निवर्तमान अध्यक्ष पुनम गुरुङले जनाइन् ।

वयस्कहरुको ५ के रन बिहान १० बजे र अण्डर- १३ को २ के रन बिहान ११ बजे शुरु भएको थियो । लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दौड उद्घाटन गरेकी थिइन् । मन्तव्यका क्रममा उपनियोग प्रमुख खनालले स्वास्थ्य सचेतना र नेपाली समुदायबीच भातृत्व तथा एकताका लागि यस्ता गतिविधि महत्वपूर्ण हुने बताइन् । उनले दूतावासबाट यस्ता कार्यक्रममा पूर्ण सहयोग हुने पनि जनाइन् ।

रनलाई पोखरेली मञ्च यूके र बेजिङस्टोक नेपलिज कम्युनिटीले सहयोग गरेका थिए । दौडको मुख्य प्रायोजक पिपल मोर्गेज र सह-प्रायोजक एइएसएन थिए ।

नेपाली नयां वर्ष मनाउने क्रममा दौड आयोजना गरिएको जनाउंदै संयोजक गुरुङले यसबाट बेलायत र नेपाली समुदायबीच ‘इन्ट्रीगेसन’ एवं स्वास्थ्य सचेतनाको लक्ष्य लिइएको बताइन् ।

रनबाट संकलित रकम च्यारिटी संस्था डोम क्याफे, पोखरा म्याराथन र धरान रनलाई प्रदान गरिने पनि उनले जनाइन् ।

दौड उद्घाटनअघि नेपाल रनका रनर स्वर्गीय दमन गुरुङको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । गुरुङ गत १३ अप्रिलमा अल्पायुमै दिवंगत भएका थिए ।

दौड कार्यक्रममा हौसला प्रदान गर्न नेपालबाट आएकी गायिका एलिना गुरुङ, कन्जरभेटिभ बेजिङस्टोक अध्यक्ष इफी ग्रान्ट लगायत नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

दौड सफल बनाउन नेपाल रनका अध्यक्ष सन्तोष राई, पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, उलवीच राइडर क्लब आदिले सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू