सोमबार, वैशाख १७, २०८१
02:29 | ०७:१४

राजदूत आचार्य पहिलोपटक तमुधिं भवनमा, विशेष स्वागत तथा सम्मान

नेपाली लिङ्क अप्रिल ९, २०२२

लन्डन । तमुधिं यूकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आफ्नै भवन मिचेटमा पहिलोपटक सम्मान तथा स्वागत गरेको छ ।

शनिवार तमु भवनमा आयोजित समारोहमा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले राजदूत आचार्य दम्पतिलाई गुरुङ संस्कार अनुसार फेटा, भांग्रा लगाएर स्वागत-सम्मान गरे ।

राजदूत बेलायत आएपछि स्वागत र विदाइ गर्ने तमुधिं यूकेको पुरानो परम्परा छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै संस्थाका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले राजदूत आचार्यको बायोडाटा पढेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत आचार्यले बेलायत, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच आसन्न त्रिपक्षीय वार्तालाई प्राथमिकता दिने बताए ।

उनले तमुधिं यूके र राजदूतावासबीचको सम्बन्ध विगत जस्तै प्रगाढ हुने आशा पनि व्यक्त गरे ।

राजदूत आचार्यले भूतपूर्व गोर्खा मुद्दा महत्वपूर्ण भएको स्मरण गर्दै नेपाल सरकारले वार्ता कमिटी गठन गरिसकेको र त्यसको नेतृत्व आफैंले गरेको जनाए । बेलायत सरकारको तर्फबाट वार्ता कमिटीबारे छिट्टै टुंगो लाग्ने पनि उनले जनाए ।

राजदूत आचार्यले बेलायत नेपाल २०८ वर्ष लामो सम्बन्ध ऐतिहासिक रहेको बताउंदै यसलाई थप प्रगाढ बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले आफ्नो संस्था जातीय जस्तो देखिए पनि सबै जातजाती र वर्गलाई प्रतिनिधित्व गर्ने साझा संस्था भएको र यसले नेपाल र बेलायतमा विभिन्न च्यारिटी कार्य गरिरहेको 
जनाए । उनले तमुधिं यूकेले गोर्खा कप, नेपाली मेला लगायत महत्वपूर्ण वार्षिक ‘इभेन्ट’ गरेर बेलायतको नेपाली समुदायलाई एकतावद्ध गर्न प्रयास गरिरहेको पनि राजदूत समक्ष अवगत गराए ।

महासचिव परशुराम गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा राजदूत पत्नी सुनिता आचार्य, उपनियोग प्रमुख रोशन खनाल, उनका श्रीमान करुण अर्याल, तमुधिं यूकेका पूर्व अध्यक्षहरु सुर्जे (रामचन्द्र गुरुङ), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, तमुधिं यूके आमा समूह अध्यक्ष तथा तमुधिं यूकेकी प्रथम महिला मञ्जु सीता गुरुङ, इकाइ अध्यक्षहरु, ट्रष्टी, सल्लाहकारलगायत सहभागी थिए ।

कार्यक्रमका अवसरमा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । तस्बिर- मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू