सोमबार, वैशाख १७, २०८१
23:08 | ०३:५३

बेलायत-नेपाल गोर्खा वार्ता युक्रेन युद्धका कारण ढिलाइ

नेपाली लिङ्क अप्रिल ६, २०२२

लन्डन- बेलायती सेनाका भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत तथा नेपालका सरकार स्तरमा हुन लागेको वार्ता अझै शुरु हुन सकेको छैन। 

भूतपूर्व गोर्खाका प्रतिनिधिको समेत सहभागितामा हुने भनिएको वार्ता युक्रेनमा जारी युद्धका कारण झन् ढिलो भएको छ ।  

लन्डनस्थित नेपाली दूतावासका अनुसार अहिले बेलायत सरकारको प्रमुख ध्यान युक्रेन युद्धतर्फ केन्द्रित रहेका कारण अन्य मुद्धाहरुजस्तै गोर्खा वार्ता पनि ओझेल परेको हो ।

‘वार्ताका लागि नेपाल सरकार तयार छ । हाम्रो वार्ता टोली पनि गठन भइसकेको छ। बेलायत सरकारसंग सुरुवाती चरणमा तयारी छलफल समेत गरिसकेका छौं’, दूतावासकी प्रवक्ता रोशन खनाल भन्छिन्, ‘अब बेलायत सरकारबाट पनि चांडै वार्ता टोली बन्छ र वार्ता शुरु हुन्छ भन्ने हाम्रो अपेक्षा छ । तर अहिले युक्रेनको स्थितिका कारण बेलायत सरकारले हाम्रो मुद्धामा पर्याप्त ध्यान दिन नसकेको हामीले पाएका छौं ।’

प्रवक्ता खनालले आफूहरु बेलायती पक्षसँग निरन्तर सम्पर्कमा  रहेको बताउंदै वार्ताका लागि टिओर (टर्मस् अफ रिफरेन्स)  तयार पार्ने काम भइरहेको जानकारी दिइन् ।  

वार्ता प्रक्रिया सक्दो छिटो अगाडि बढाउनका लागि दूतावासले बेलायत सरकारसँग कूटनीतिक स्तरमा पहल जारी राखेको भन्दै उनले भनिन्, ‘चांडै वार्ताको तिथि तय हुन्छ भन्ने आशा छ ।’

यसअघि बेलायतका लागि नेपाली राजदूतको ठाउँ खालि रहेका कारण गोर्खा वार्ताको प्रक्रियामा केही महिना ‘ब्रेक’ लागेको थियो । तर फेब्रुअरी अन्तिम साता नयाँ राजदूत ज्ञानचन्द्र आचार्य आइसकेपछि वार्ता तयारीले पुन: गति लिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू