सोमबार, वैशाख १७, २०८१
22:51 | ०३:३६

एनआरएनए नेतृत्व लिएपछि आचार्य पहिलोपटक लन्डनमा

नेपाली लिङ्क अप्रिल ६, २०२२

तस्विर: मिलन तमु 

लन्डन- गैरआवासीय नेपाली संघ ( एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्य बेलायत आइपुगेका छन् । दुई साताअघि सम्पन्न संघको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक उनी आफ्नो कर्मभूमि बेलायत आएका हुन्। 

बुधबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिएका अध्यक्ष आचार्यलाई उनको परिवार र केही एनआरएनए अभियन्ताहरुले स्वागत गरेका थिए।

उनको स्वागतका लागि एनआरएनए यूकेको वर्तमान कार्यसमितिबाट कोषाध्यक्ष विष्णु खरेल, सदस्य सुमन शर्मा, पूर्व महासचिव आरके त्रिपाठी र पूर्व कोषाध्यक्ष दिलरास गुरुङ, अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र कोषाध्यक्ष कमल गुरुङ,  नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य, शिव कंडेल लगायत विमानस्थल पुगेका थिए।  

बहुअध्यक्षीय प्रणालीमार्फत् डा बद्री केसी र रविना थापासंगै अध्यक्ष बनेका आचार्य पहिलो ६ महिनाका लागि कार्यकारी भूमिकामा छन् । उनी छोटो समयको बेलायत बसाइपछि संघको कामकै लागि नेपाल फर्किने योजनामा रहेको बुझिएको छ ।

एनआरएनएको जननी मुलुक भनिने बेलायतबाट संघको अध्यक्ष निर्वाचित हुने आचार्य पहिलो हुन् । एनआरएनए यूकेमा सन् २०११-१३ मा अध्यक्ष रहेका उनले पछि आइसीसीमा युरोप संयोजक र उपाध्यक्षको रुपमा एक-एक कार्यकाल काम गरेका थिए । 

दुई वर्षअघि पनि अध्यक्ष प्रत्यासी रहेका उनी कुमार पन्तसँग केही मतले पछि परेका थिए । त्यसयता एनआरएनएमा प्रतिपक्षको भूमिकामा देखिएका आचार्य अहिले भने संस्थाको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेका छन् । तर त्यतिबेला उनीसंगै संस्थापन पक्षविरुद्ध लडेका शेष घलेसहितका कयौं अभियन्ता अहिले संस्थाबाहिर पुगेका छन् । 

यस्तै चुनौतिबीच नेतृत्वका लागि प्राप्त अवसरलाई आचार्यले कसरी सदुपयोग गर्नेछन् भन्ने हेर्न भने केही समय पर्खिनै पर्नेछ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू