शनिबार, जेठ ५, २०८१
15:33 | २०:१८

बेलायतवासी अभिनेत्री दिया र गायक राजु लामा सगरमाथा आरोहणतिर

रासस अप्रिल ४, २०२२

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेमबहादुर आले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङगोलिन हार्टका गायक राजु लामा र नायिका दिया पुनलाई आरोहणको शुभकामना दिंदै । तस्बिर- विमलबहादुर विष्ट, रासस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’

यसैगरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झन्डा हस्तान्तरणसमेत गरेका थिए ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए । गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रमसमेत गर्ने बताए । उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्धन र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’

लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू