सोमबार, वैशाख १७, २०८१
22:27 | ०३:१२

गेसो सभापति राई माओवादी प्रवेश, प्रचन्डले गरे स्वागत

नेपाली लिङ्क अप्रिल २, २०२२

लन्डन-गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सभापति कृष्णकुमार राई नेकपा माओवादी प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा आबद्ध राईलाई माओवादी अध्यक्ष प्रचन्डले शनिबार पार्टीमा स्वागत गरेका छन् ।  

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा सभापति राईसंगै कुल ८२ जनाले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका बताइएको छ । जसमध्ये गेसोकै उपसभापति जितमान राई, सचिव बुद्धिमान राई लगायत छन्।  

गेसोका सभापति राईसहितका पदाधिकारीलाई अध्यक्ष प्रचन्डले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । 

त्यस अवसरमा सम्बोधन गर्दै प्रचन्डले गोर्खा आन्दोलनको संस्थापक संस्थाका प्रमुखसहितका अभियन्ताहरुको प्रवेश आफ्नो पार्टी र देशको लागि दुरगामी महत्वको विषय भएको बताए ।

गेसो सभापति राईले भने अग्रगमन, परिवर्तन, समावेशिता र समानताका लागि लड्दै आएको पार्टीका रुपमा आफूहरुले माओवादी प्रवेश गरेको बताए ।  

‘अहिले हामी गोर्खा वार्ताको संघारमा छौं । वार्तालाई सार्थक बनाउन हामीले नेपाल सरकार र राजनीतिक दलहरुसँग लामो समयदेखि छलफल र लबिङ गर्दै आएका थियौँ’, पार्टी प्रवेशको सन्दर्भबारे सभापति राईले भने, ‘हाम्रो एजेन्डालाई न्याय दिलाउन बढि प्रभावकारी भूमिका हामीले माओवादी पार्टीबाटै हुने देखेर प्रवेशको निर्णय गरेका हौं।’ 

आफ्नो ईच्छाअनुसारको पार्टी रोज्न गेसोको विधानले दिएको छुटअनुसार नै सभापतिसहितका पदाधिकारीहरुले व्यक्तिगत रुपमा पार्टी प्रवेश गरेको गेसोले स्पष्ट पारेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू