मंगलबार, जेठ १, २०८१
11:56 | १६:४१

एनआरएनएमा चुनियो नयाँ नेतृत्व: अध्यक्ष तीन, पदाधिकारी ७५ र कार्यसमितिमा २ सय बढी

नेपाली लिङ्क मार्च २७, २०२२

एनआरएनएमा नवनिर्वाचित अध्यक्षत्रय डा. बद्री केसी, रविना थापा र कुल आचार्य

लन्डन- लामो विवाद र किचलोपछि अन्तत: गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार काठमाडौंमा सम्पन्न संघको १० औं विश्व सम्मेलनले डा. बद्री केसी, रविना थापा र कुल आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

विभाजनको मुखमा पुगेको संस्थालाई एकताबद्ध गर्न भन्दै सर्वसम्मत रुपमा जम्बो कार्यसमिति चुनिएको छ जसमा पदाधिकारी नै ७५ जना पुगेका छन् भने कार्यसमितिमा रहनेहरुको जम्मा संख्या २ सय बढी पुगेको छ।

घोषित कार्यसमितिका तीनै अध्यक्ष कार्यकारी रहने बताइएको छ । जसअनुसार कार्यसमितिको पहिलो बैठक तीनैजना अध्यक्षले अध्यक्षता गर्नेछन् भने त्यसपछि क्रमश: कुल आचार्य, रविना थापा र डा. बद्री केसीले ६-६ महिना कार्यकारी भएर अध्यक्षता गर्नेछन् । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट छन् । 

त्यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । महासचिवमा गौरीराज जोशी र केशव पौडेल गरी दुई जना चुनिएका छन् ।

त्यसैगरी, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारीसहित ६ जना तथा सचिवमा चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी गरी चयन भएका छन्। महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ चुनिएका छन्।  

तीन कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त तथा आठ सह-कोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना, दीपक शर्मा, लाल केसी, मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी चुनिएका छन् । महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भए । 

युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का एवम् महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा चुनिए । दुई प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू