शुक्रबार, वैशाख ७, २०८१
00:21 | ०५:०६

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन राजदूतले थाले पहल, विदेशमन्त्रीसंग छलफल

त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा भएको भेटप्रति गोर्खाहरु सकारात्मक

नेपाली लिङ्क मार्च २१, २०२२

लन्डन । बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमद र नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच भेटवार्ता भएको छ ।

सोमबार लन्डनस्थित बेलायती विदेशमन्त्रालय (एफसिडीओ) मा भएको उक्त भेटघाटका क्रममा नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्धका विविध पक्ष, बेलायत र नेपालबीच उच्चस्तरिय भ्रमण आदानप्रदान, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्धन एवं भूतपूर्व गोर्खा मुद्दामा छलफल भएको दूतावासले जनाएको छ ।

बेलायत र नेपालबीच २०७ वर्ष भन्दा लामो ऐतिहासिक सम्वन्ध रहेपनि व्यापार र लगानीका हिसावले अझै उल्लेख्य हुन नसकेको भन्दै राजदूत आचार्यले यसप्रति चासो राखेका थिए ।

राजदूत आचार्यले मन्त्री अहमदसंग बेलायती प्रधानमन्त्रीले अहिलेसम्म नेपाल भ्रमण नगरेको परिप्रेक्ष्यमा सो उच्चस्तरिय भ्रमण मिलाउन पनि आग्रह गरेका थिए ।

प्रतिउत्तरमा मन्त्री अहमदले आफू यस आग्रहप्रति सकारात्मक भएको भन्दै अनुकुल समयमा भ्रमण मिलाउन पहल गर्ने बताएको उपनियोग प्रमुख रोशन खनालले नेपाली लिंकलाई बताइन् ।

भेटका क्रममा दूतावासकी उपनियोग प्रमुख खनालसहित बेलायतस्थित विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अधिकारीहरुको पनि उपस्थिति थियो ।

बेलायत, नेपाल सरकार र भूतपूर्व गोर्खाहरुबीच त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा भएको यस भेटलाई गोर्खाहरुले सकारात्मक रुपमा हेरेका छन् ।

गोर्खा वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जिम्मेवारी पाएका राजदूत आचार्यले मन्त्री अहमदसँग बेलायततर्फबाट पनि चांडै वार्ता समिति बनेर वार्ता अघि बढ्ने आशा व्यक्त गरेका थिए।

उता, राजदूत आचार्यले सोमबार नै लर्ड शेखसंग पनि उनकै कार्यालयमा भेट गरेका छन् ।

यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमका अध्यक्ष समेत रहेका शेखसंगको सो भेटमा दुईदेशबीच लगानी र व्यापार प्रवर्धन तथा विस्तार गर्नेबारे छलफल भएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू