पत्रकारद्वय खपांगी र सेने फोनिज यूकेद्वारा सम्मानित


लण्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपांगीमगर र विमला सेनेलाई सम्मान गरेको छ ।
फोनिज यूकेको आज फार्नबरोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज यूकेकी अध्यक्ष प्रमिला लावुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरे । खपांगीमगरलाई भर्चुअलरुपमा सम्मानित गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खपांगी विगतमा दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, युरोपको नेपालीपत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक, गोरखा सैनिक आवाज मासिक हुँदै अहिले वीनेपाली डटकमको सम्पादक छन् । उनी नेपाल पत्रकार महासंघ यूके शाखाको पूर्व अध्यक्ष पनि हुन् ।
यसैगरी, सन् १९९४ मा बेलायती रक्षा मन्त्रालयको बीएफबीएस गोरखा रेडियोबाट पत्रकारितामा प्रवेश गरेकी सेनेले नेपालमा सप्तकोशी एफएममा लामो समय काम गरेकी थिइन्। बेलायत आएपछि उनी नेपाली टिभी, नमस्ते युरोप, गोरखा टिभी हुँदै गोरखा च्यानल सञ्चालन गर्दै आएकी छन् । व्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी सेने हाल नेपाल पत्रकार महासंघ यूकेको केन्द्रीय प्रतिनिधि छन् ।
साधारणसभाले फोनिज यूकेको अध्यक्षमा गोमा रानालाई चयन गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५