शुक्रबार, वैशाख १४, २०८१
01:53 | ०६:३८

लन्डनस्थित नेपाली दूतावासमा विश्वविख्यात सद् गुरु

नेपाली लिङ्क मार्च १८, २०२२

लन्डन। विश्वविख्यात योगा गुरु तथा योगी सद् गुरुले नेपालसँग आफ्नो आत्मिय सम्बन्ध रहेको बताएका छन्।  

‘सेभ सोइल’ (माटो जोगाउँ) अभियान शुभारम्भका लागि लन्डनमा रहेका सद् गुरुले बिहीबार लन्डनस्थित नेपाली दूतावासमा सम्बोधन गर्दै भने, ‘नेपाल र नेपाली मेरो मुटुमा छन् ।’

विगत १७ वर्षयता हरेक वर्ष नेपाल पुग्दै आएका सद् गुरुले नेपालको प्राकृतिक सम्पदा र सौन्दर्य अलौकिक रहेको भन्दै प्रशंसा गरे । ‘तर ती सम्पदाको उचित संरक्षण र व्यवस्थापनका लागि दूरदर्शिता टड्कारो छ’, उनले थपे ।

जलवायु परिवर्तनका कारण उत्पन्न प्रतिकुल अवस्थाले नेपालका सर्वोच्च हिमशिखरहरु पग्लिने र होचिने क्रम शुरु भएकोमा उनले चिन्ता व्यक्त समेत गरे।

‘सेभ सोइल’ (माटो जोगाउँ) भन्ने सन्देशसहित सधगुरुले यही मार्च २१ तारिखमा लन्डनदेखि भारतसमको बाइकयात्रा शुरु गर्दैछन्। ३० हजार किमी दूरी उनले विभिन्न २७ देश पार गर्दै १ सय दिनभित्र पूरा गर्ने लक्ष्य राखेका छन्। आफ्नो अभियानबाट कम्तीमा ३ अर्ब मानिसले माटो जोगाउन संकल्प गरुन् भन्ने उनको आशा छ ।  

पर्यावरणीय सन्तुलनका लागि माटोको रक्षा सबैभन्दा महत्वपूर्ण रहने दाबी गर्दै सद् गुरुले यसबारे संसारभरका मानिसलाई सचेत बनाउने र नीति निर्माताहरुलाई प्रभावित तुल्याउने लक्ष्य लिएका छन् ।

कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले सद् गुरुको अभियान र सन्देशले नेपाल जस्ता मुलुक बढी लाभान्वित हुने बताउंदै नेपाल सरकारले ग्लास्गोमा हालै सम्पन्न कोप २६ सम्मेलनका क्रममा सन् २०४५ सम्ममा नेट जिरोमा जाने र सन् २०३० सम्ममा वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याउन योजना अघि सारेको स्मरण गरे । 

उक्त कार्यक्रम संचालन गर्दै उपनियोग प्रमुख रोशन खनालले सद् गुरुलाई दूतावासमा स्वागत गर्न पाउनु गर्वको विषय भएको बताइन् । सद् गुरु दूतावास प्रवेश गर्दा राजदूत आचार्य, दूतावास परिवार, पन्चकन्या, व्यवसायी रविजंग लामिछाने लगायतले स्वागत गरेका थिए । सो क्रममा प्रश्नोत्तर सेसन पनि भएको थियो ।

उता, व्यवसायी रविजंग लामिछानेले साँझ बेलायती संसद भवनमा सद् गुरुको सम्मानमा विशेष समारोह आयोजना गरे । सो अवसरमा बेलायती सांसद, लर्ड्स, नेपाली र भारतीय राजदूतहरु, विभिन्न समुदायका व्यवसायी लगायतको सहभागिता थियो ।

सो अवसरमा ब्यारोनेस बर्माले व्यवसायी रविजंगलाई कार्यक्रम आयोजना गरेकामा विशेष आभार व्यक्त गर्दै रवि सफल व्यवसायीमात्र नभएर परोपकारी कार्यमा निरन्तर क्रियाशिल समाजसेवी पनि भएको बताइन् ।

कार्यक्रममा प्रवचन दिने क्रममा सद् गुरुले पनि लामिछानेको नाम लिएर धन्यवाद दिएका थिए । व्यवसायी लामिछानेले नेपाल र नेपालीको गौरव र इज्जत हुने हरेक कार्यमा आफ्नो तर्फबाट सहयोग रहने बताए ।

तस्विर- कुशल श्रेष्ठ  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू