शुक्रबार, वैशाख १४, २०८१
10:31 | १५:१६

बेलायतका नेपालीले ब्रेकनमा १० एकड जग्गा किनेर ‘नेपाली भिलेज’ बनाउंदै

नेपाली लिङ्क मार्च १५, २०२२

लन्डन । बेलायतका नेपालीले वेल्सको ब्रेकनमा कम्तीमा १० एकड जग्गा किनेर त्यसलाई नेपाली भिलेजमा रुपान्तरण गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् ।

बेलायतका चिरपरिचित ११ जना समाजसेवीहरुको समूहले बेलायतको वेल्स राज्यस्थित ब्रेकन विकनमा पर्ने अग्लो मध्यको पेनवाईफ्यान पहाड वरपरको क्षेत्रलाई आधार बनाएर कम्तिमा १० एकड जग्गा किनि व्यवसायिक रुपमा सञ्चालन हुने गरि ‘नेपाली भिलेज’ स्थापना गर्ने निर्णय गरेका हुन् ।

गत १३ मार्च आइतबार एम्पायर हल अल्डरसटमा सम्पन्न बोर्ड अफ डाइरेक्टरहरुको पहिलो प्रत्यक्ष बैठकले सो निर्णय गरेको हो ।

लामो समयको विचार विमर्श, कानूनी परामर्श, विभिन्न क्षेत्रका जानकारहरुसंगको सल्लाह सुझाव र आवश्यक पूर्व गृहकार्यपछि सो निर्णय गरिएको जनाइएको छ ।

विभिन्न चरणमा अगाडि बढ्ने सो योजनाको उद्देश्य बेलायत लगायत युरोपकै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनाएर नेपाल र नेपाली कला-शैली, परम्परा, संस्कृति झल्कने संरचनाहरु बनाउने, आवश्यक सुविधासहित क्याम्पिङ साइट व्यवस्था गर्ने लगायत थुप्रै योजना छन् ।

नेपाली भिलेज परियोजनामा सकेसम्म धेरै नेपालीलाई सहभागी गराउने उद्देश्य छ । पहिलो चरणमा यही अप्रिल १ तारिखबाट १०० मध्ये ८९ जनाका लागि यो व्यवसायिक योजनामा लगानी गर्न आवाहन गर्ने समूहको लक्ष्य छ ।

नेपाली भिलेजमा पुग्ने जो कोही आगन्तुकलाई आफू नेपाल पुगेको महशुस गराउन प्रयास गर्ने उद्देश्य 
राखिएको उक्त योजनाका लागि आवश्यक जग्गा खोज्ने काम सुरु गरिएको र थुप्रै नेपालीले लगानी गर्न इच्छा देखाएको विक्रम भट्टराईले जनाए ।

समूहमा बेलायती सेनाका पूर्व गोर्खा मेजर खुशीमान गुरुङ एमभीओ अध्यक्ष, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ उपाध्यक्ष, जशु गुरुङ कोषाध्यक्षसहित ११ जना छन् ।

थप जानकारीका लागि अध्यक्ष मेजर खुशीमान गुरुङ एमभीओ, उपाध्यक्ष मानप्रसाद गुरुङ अनि कोषाध्यक्ष जशु गुरुङ (07980 866001, 07365 522863, 07531 772064) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू