आइतबार, १४ डिसेम्बर, २०२५
07:34 | १३:१९

राजदूत भेटेर जनसरोकारका विषयमा दूतावासको ध्यानाकर्षण

नेपाली लिङ्क मार्च १५, २०२२


लन्डन । प्रवासी नेपाली मञ्च यूकेले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत र सम्मान गरेको छ ।

मञ्च पदाधिकारीले राजदूतावासमै गएर राजदूत आचार्यको स्वागत सम्मान गर्दै जनसरोकारका विषयमा दूतावासको ध्यानाकर्षण गराएका छन् ।

समारोहमा स्वागत ग्रहण गर्दै राजदूत आचार्यले भूपू गोर्खा सैनिक लगायत नेपालीका समस्या समाधानका लागि राजदूतावासबाट गर्न सकिने सबै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले नेपालको आर्थिक विकासका लागि प्रविधि, सीप र पर्यटन देशमा भित्रयाउन प्रवासमा रहेका नेपालीको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।

राजदूत आचार्यले देशको समृद्धिका लागि जनस्तरबाट गरिने हरेक प्रयासमा दूतावासको सक्रिय सहकार्य रहने विश्वास पनि दिलाए ।

प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष सुरेन्द्र थपलियाले राजदूत आचार्य र उपनियोग प्रमुख रोशन खनाललाई खादा, पुष्पगुच्छा एवं स्वागत अभिनन्दनपत्र प्रदान गर्दै आफ्नो संगठनका गतिविधिबारे जानकारी दिए ।

अध्यक्ष थपलियाले भूपू गोर्खा सैनिकका समस्या, नेपाली नागरिकताको निरन्तरता र आम निर्वाचनमा प्रवासबाट मतदान गर्न पाउनुपर्ने लगायत माग मञ्चले धेरै पहिले देखि उठाउँदै आएको स्मरण गर्दै यी मागमा दूतावासबाट पहलकदमी गर्न आग्रह गरे ।

कोरोना महामारी रोकथाममा राजदूतावाससँगै मञ्चले सहकार्य गरेको चर्चा गर्दै अध्यक्ष थपलियाले मञ्चका विश्वभरिका सैँतिस संगठनहरू मिलेर पोखरा अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट स्थापना, नेपालमा नारी सशक्तिकरण कोष स्थापना गरिएको, स्व. भगिरथी भट्टको आमालाई दुई लाख रूपिया आर्थिक सहयोग प्रदान गरिएको र चितवनका चेपाङ बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि अर्को योजना हालै शुरु गरिएको जानकारी दिए ।

संगठनका सल्लाहकार तथा पूर्व अध्यक्ष दिनेश घिमिरेले राजदूत आचार्यको जीवनी र व्यक्तित्वको चर्चा गर्दे लामो समयदेखि नेपालको कूटनीतिक र प्रशासनिक क्षेत्रमा उच्च ओहोदामा रहेर अन्तराष्ट्रिय जगतमा नेपालको कुशल प्रतिनिधित्व गरिसकेका अनुभवी बौद्धिक व्यक्तित्वलाई राजदूतको रूपमा पाउँदा खुशी लागेको बताए ।

उनले जनसमाजसंग प्रत्यक्ष सरोकार राख्ने मागहरू राजदूतको कार्यकालमा सम्बोधन हुनेमा आफ्नो संगठन विश्वस्त रहेको बताए ।

सभाको प्रारम्भमा संगठनकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य दिंदै राजदूतको सम्मानमा तयार पारिएको पत्र वाचन गरेकी थिइन् । केसीले स्वागत मन्तव्यका क्रममा महिला समस्या र सशक्तिकरणका विषयमा चर्चा गरिन् ।

महासचिव सुरेशजंग शाहले देशको भविष्य बोकेका युवाशक्ति ठूलो संख्यामा विदेशिइरहेको पृष्ठभूमिमा रेमिट्यान्स मात्र नभई ति युवाको सीप, ज्ञान र मत सदुपयोग गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

महासचिव शाहले भूपू गोर्खा सैनिकका समस्या, नेपाली नागरिकताको निरन्तरता र प्रवासबाट आम निर्वाचनमा मतदान व्यवस्था आदिमा राज्यले सम्वोधन गर्नु पर्ने बेलायतमा रहेका नेपाली नागरिकका माग रहेको उल्लेख गरे ।

कार्यक्रमको अन्त्यमा उपनियोग प्रमुख रोशन खनालले दूतावासले इ–पासपोर्ट वितरण शुरु गरेको जानकारी दिंदै दूतावासको वेवसाइटबाट पनि जानकारी लिन सकिने बताइन् । खनालले एमआरपी पासपोर्टको म्याद भइन्जेल प्रयोग गर्न बाधा नभएको जानकारी पनि गराएकी थिइन् ।

समारोहमा प्रवासी नेपाली मञ्च–युरोप कमिटीकी सदस्य कल्पना त्रिपाठी, पोर्चुगल कमिटीका सल्लाहकार हेमराज सुवेदी, मञ्चका उपाध्यक्ष पशुपति पोखरेल, बालकृष्ण भुषाल, कोषाध्यक्ष पूण्य रेग्मी, क्षेत्रीय अध्यक्ष तारानाथ भण्डारी, प्रचार विभाग सचिव शक्ति घिमिरे, क्षेत्रीय महासचिव यज्ञ खरेल, सचिवालय सदस्य शम्भु अर्याल, सदस्यहरू  जयराम कंडेल, अर्जुन मुडभरी र राममाया विष्ट थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू