शुक्रबार, वैशाख १४, २०८१
07:12 | ११:५७

बेलायती बजारमा नेपाली चेलीले ल्याइन् पहिलोपटक पिरियड प्यान्ट्स

महिनावारी हुंदा प्याडको सट्टा कट्टु

नेपाली लिङ्क मार्च १४, २०२२


लन्डन । झण्डै दशक अघि विद्यार्थीका रुपमा लन्डन छिर्दा रबिना राउतसंग संघर्ष र पीडाबाहेक अरु थोक थिएन ।

अध्ययन, जागिर नपाउंदाको पिरलो, आर्थिक अभाव आदि इत्यादि ।

सन् २०१० मा भद्रपुरबाट सिधै लन्डन उत्रिएर नयां परिवेशमा घुलमिल हुन कम अप्ठेरो थिएन । पढाइपछि पनि जागिर नपाएर उनी च्यारिटी संस्थामा स्वयंसेवक बन्न वाध्य भइन् ।

तर, रुबिना अहिले तिनै कहालीलाग्दा दिन ‘सपना’ जस्तै ठानिरहेकी छन् । बेलायती बजारमा महिला उद्यमीका रुपमा उनको सफलता लोभलाग्दो छ ।

उनी सन् २०१७ मा स्थापित स्टार्ट अप ‘उका’ नामक कम्पनीको सिइओ हुन् जसले पिरियड प्यान्ट्स (महिनावारी हुंदा लगाउने कट्टु) विक्री वितरण गर्छ ।

बेलायतमै पहिलो पटक पिरियड प्यान्ट्स कन्सेप्ट ल्याएकी थिइन् रुबिनाले । त्यो नौलो कन्सेप्टले रुबिना बेलायती मिडियामा रातारात छाइन् ।

शुरुमा उनले क्राउड फन्डिङबाट ८ हजार पाउन्ड जुटाइन् जसले पहिलो २ हजार अर्डर बनाउन सकिन्थ्यो । अपरिचित १२० जनाले रुबिनाको आइडिया मन पराएर आर्थिक सहयोग गरेका थिए । वेवसाइट, ब्रान्डिङ र प्रविधिमा श्रीमान डेभ स्लोकोम्बले सहयोग गरे ।

सानो स्केलबाट शुरु भएको उनको उत्पादन अहिले मासिक तीन लाख विक्री हुन्छ । बेलायतको तेश्रो ठूलो सुपरमार्केट चेन सेन्सबरीका २१० वटा स्टोरबाहेक निजी पसल, युरोप र साल्भाडोरसम्म पुगेको छ उनको उत्पादन ।

‘पिरियड प्यान्ट्स प्रयोगले महिनावारी हुंदा स्यानिटरी प्याड लगाउने झन्झट नहुने, आनन्ददायक सजिलो, दुई वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने, रगत सोस्ने र नचुहिने (लिक प्रुफ) हुंदा युरोपमा धेरै प्रभावकारी मानिएको छ’, रुबिनाले भनिन्, ‘यो पिरियड वेयरले २ सय वटा प्याड जोगाउने भएकाले नेपाल जस्तो अल्पविकसित देशमा सस्तो र बढी उपयोगी हुने मेरो विश्वास छ ।’

१२ पाउण्ड प्रति मूल्य परेपनि नेपालमा न्यून आयश्रोत भएका महिलालाई च्यारिटी संस्थामार्फत सुपथ मुल्यमा वितरण गर्न सकिने रुबिना बताउंछन् । चीनमा कारखाना भएकाले नेपाल आपूर्तिमा सहज हुने उनले बताइन् ।

अहिले ‘उका’ ले नेपालमा ‘डे फर गल्स्’ च्यारिटीलाई निशुल्क पिरियड प्यान्ट्स बांडिरहेको छ ।

आफ्नो उत्पादन वातावरणीय प्रदुषण न्यूनीकरणमा पनि सहयोगी हुने विश्वास रुबिनाको छ । रुबिनाले आफू वातावरणीय विज्ञान ग्रयाजुएट भएकाले पनि इको फ्रेण्ड्ली उत्पादनलाई प्राथमिकता दिएको बताइन् ।

नेपालमा रजस्वला हुंदा महिलाहरु अपमानित हुनुपर्छ । घरैबाट शुरु हुन्छ विभेद । नेपालको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका कतिपय ठाउंमा रजस्वलाका बेला महिला घर छाडेर अलग्गै छाउ वा गोठमा बस्नुपर्ने चलन हटेको छैन् । गरिवी, विकटता, सामाजिक सोच, अशिक्षा आदि कारण महिलाहरु रजस्वला हुंदा खुलेर भन्न नसक्ने अवस्था छ ।

रुबिनाले पनि नेपालमा किशोरी छंदा यही परिवेश गुजारिन् जसले गर्दा पिरियड प्यान्ट्सको परिकल्पनाले मुर्तरुप लियो । ‘म नेपालमा महिनावारी हुंदा गरिने दुव्र्यवहार र सोच परिवर्तन गर्ने अभियानमा छु । वातावरणीय प्रतिकुलता न्यूनीकरण मेरो अर्को उद्देश्य छ’, उनले सुनाइन् ।

फिजिसियन तथा जनस्वास्थ्य विज्ञ डा. सागर पौडेल नेपालमा महिनावारी विभेद बढिरहंदा यसलाई ‘बायोलोजिकल फेनोमेना’ का रुपमा लिन आवश्यक रहेको बताउंछन् ।

‘नेपालमा लैंगिक हिंसा अन्त्यका लागि मर्यादित महिनावारी जरुरी छ’, डा. पौडेलले लन्डनमा भने, ‘महिलालाई झन् बढी रेखदेख चाहिने बेला घृणा गर्ने परिपाटी अन्त्य गर्न जनचेतना जरुरी छ । ‘

डा. पौडेलले नेपालको परिवेशमा अलिक महंगो भएपनि पिरियड प्यान्ट्स प्रभावकारी हुने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू