शुक्रबार, वैशाख १४, २०८१
20:11 | ००:५६

शेष घलेको कदम सम्मानित अदालतको समेत अपहेलनाः एनआरएनए

नेपाली लिङ्क मार्च १३, २०२२

लन्डन । गैरआवासीय नेपाली संघले पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएका वर्तमान गतिविधिहरुले सम्मानित अदालतको समेत अपहेलना गरेको ठहर गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौं ।’

गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेका बेला संघका पूर्व अध्यक्ष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति 
संघको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तैः
गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको छ ।

यसै सन्दर्भमा संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भंग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित छन् ।

यसै सिलसिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनविरुद्ध दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौं ।

वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न-गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुरयाउन खोज्नु खेदजनक छ ।

संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्वन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरितका गतिविधिहरुमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ ।
मितिः १३ मार्च २०२२

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू