बुधबार, वैशाख १२, २०८१
10:51 | १५:३६

स्वीन्डनमा ८ लाख पाउण्डमा नेपालीले खोले रात्रीक्लब

नेपाली लिङ्क मार्च १०, २०२२

लन्डन । बेलायतका नेपाली व्यवसायीहरुले स्वीन्डनमा अत्याधुनिक प्रविधि र साजसज्जासहित रात्रीक्लव सञ्चालनमा ल्याएका छन् ।

स्वीन्डन टाउनमा झण्डै ८ लाख पाउण्डमा ‘पावर लाउञ्ज’ खुलेको हो । कोभिड महामारीका कारण केही महिना सुचारु हुन नपाएको उक्त क्लव अहिले नियमित सञ्चालन भएको छ ।

९०० जना अट्ने क्षमताको उक्त क्लवलाई सञ्चालकले लक्जरी नाइट लाइफका लागि ‘नयां अध्याय’ भएको बताएका छन् । बेलायतमा नेपालीले खोलेको यो नै सबैभन्दा ठूलो क्लव हो ।

पावर लाउञ्जमा रेष्टुरेन्टसहित स्पोर्टस बार, लाउञ्ज, सिसा र लाइभ ब्याण्डका साथ नाचगानका लागि पर्याप्त ठाउं उपलव्ध छ । भिआइपी बुथ बेग्लै बनाइएको छ ।

उक्त कम्पनी व्यवसायीहरु बालकुमारी रोका, राउल डायस र राजनकुमार क्षेत्रीको स्वामित्वमा छ । बालकुमारी रोकाले सन् २०२१ जनवरीमा पावर लाउञ्ज खोलेकी थिइन् । पछि अरु दुई विजनेश पार्टनर थपिएका हुन् ।

एसियन, टर्किस र अमेरिकी कुजिनको 
गार्डेन रेष्टुरेन्टबाट शुरु भएको पावर लाउञ्ज भवन यसअघि बोस्टन ब्रदर्श र एजको स्वामित्वमा थियो ।

हेल्थ केयर क्षेत्रमा अनुभवी बालकुमारीको नयां आइडिया थियो पावर लाउञ्ज जसमा उनको पार्टनर सन्दिप पौडेलले साथ दिए ।

‘जब हामीले प्रोपर्टी विक्रीमा रहेको थाहा पायौं, हामी त्यसलाई किनेर केही नयां बनाउन चाहन्थ्यौं जहां सबै उमेर समूहका मानिस आएर रमाइलो गर्न सकुन्’, बालकुमारीले सुनाइन् ।

उनले अन्य व्यवसायिक साझेदारहरुको कडा परिश्रमपछि अहिले आफ्नो ड्रिम प्रोजेक्ट सफल उन्मुख भएको पनि बताइन् ।

‘महामारीका कारण हामीले धेरै कठिन दिनहरु पार गरयौं तर सबैको पूर्ण सहयोगले विचलित हुनु परेन’, बालकुमारी भन्छिन्, ‘हामी पावर लाउञ्जलाई आकर्षक र फेमिली फ्रेण्डली वातावरणको बनाउन दृढ छौं जहां तपाईंहरु स्वादिष्ट खाना र ककटेलका लागि आउन सक्नुहुन्छ । हामीलाई लाग्छ कि स्वीन्डनले जहिले पनि सातै दिन खुल्ने सुविधासम्पन्न लाउञ्ज, रेष्टुरेन्ट, बार र नाइट क्लव चाहन्छ, त्यसको एकमात्र विकल्प हामी हौं ।’

पावर लाउञ्जमा समरका बेला कयौं इभेन्ट तय भइसकेको जनाउंदै सञ्चालकले पहिलो वार्षिकोत्सव आउंदो अप्रिल ८ शुक्रबार हुन लागेको जानकारी दिए । क्लवमा जी जी, एजे एण्ड स्वीच ओटिआर जस्ता बेलायतका टप १० कलाकार आएर पनि ‘परफर्म’ गरिसकेका छन् ।

स्वीन्डनका सांसद रोबर्ट बकल्याण्ड, स्वीन्डन टाउन काउन्सिलरहरु, पुलिस कमिश्नर लगायत स्थानीय समुदायका नेताहरुले क्लव ‘भिजिट’ गरेर व्यवसायीलाई हौसला दिइसकेका छन् ।

सञ्चालकहरुले आफ्नो व्यवसायबाट आउने आम्दानीको केही हिस्सा च्यारिटी संस्था- स्वीन्डन डोमेस्टिक एब्युज सपोर्ट सर्भिस, ब्राइट फ्युचर्स र सहारा यूकेलाई दिइने बताएका छन् । क्लवले स्वीन्डन टाउन, स्वीन्डन क्रिकेट क्लव र स्वीन्डन वाइल्ड क्याट्स आइस हक्की टिमलाई पनि सहयोग गरेको छ ।

कम्पनीले हालै ग्रेट वेस्टर्न हस्पिटलमा कार्यरत फ्रन्टलाइन कामदारहरुलाई एकसय वटा बक्स खाना निशुल्क प्रदान गरेको थियो ।

कम्पनी संचालकहरु बालकुमारी रोका, राउल डायस (बीच) र राजनकुमार क्षेत्री

सञ्चालकहरुले पावर लाउञ्जको लन्डन शाखा छिट्टै शुरु गर्ने योजना पनि सुनाए । अक्सब्रीज लन्डनमा खोलिने उक्त क्लवको लगानी झण्डै १५ लाख पाउण्ड रहने सञ्चालकको दावी छ, जसमा १५ सय जना अट्ने क्षमता हुनेछ ।

सो प्रोजेक्ट मेमा शुरु गरि ढिलोमा नोभेम्बरसम्म ग्राहकका लागि खोल्ने व्यवसायीको लक्ष्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू